लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं, २८ कात्तिक । मुलुकका दुई फरक स्थानहरुमा लागुऔषधसहित ३ जना व्यक्तिहरु पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार काठमाडौँ र पर्सामा उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–१७ ढल्कुमा लागू औषध कारोबार भइरहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लु घर बताउने २८ वर्षीय अर्जुन प्रजापतीलाई पक्राउ गरेको छ । उनको साथमा रहेको फेनारगन ५३ एम्पुल, मेथिन ५३ एम्पुल र डाइजेपाम ५३ एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
त्यस्तै पर्साको बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भारतको रक्सौलदेखि बीरगंजतर्फ आउँदै गरेका भक्तपुर उपमहानगरपालिका–१७ दुधपाटी बस्ने २५ वर्षीय अशोक थापा र सोही उपमहानगरपालिका–६ सूर्यबिनायक बस्ने २५ वर्षीय सुरज शाहीलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट डाइजेपाम ५४ एम्पुल, फेनारगन ५५ एम्पुल र नुर्फिन ५२ एम्पुल फेला परेपछि उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।