ध्रुबराज ढकालको योजना : केबुलकारदेखि कृषि र पर्यटन पढाउँने विद्यालयसम्म

मकवानपुर, २८ कात्तिक । प्रदेशसभा २ (१) मा नयाँ शक्तिका तर्फबाट उम्मेदवार भएका ध्रुबराज ढकालले आफ्नो क्षेत्रमा विकासका प्रसस्त संभावनाहरु भएको बताएका छन् । सबैलाई मिलाएर अघि बढ्न सके यो क्षेत्रमा आर्थिक समृद्धि हसिल हुने र यसको विस्तृत कार्ययोजना आफूसँग भएको उनको भनाइछ ।
तु खबरसँग कुरा गर्दै उम्मेदवार ढकालले भैसेदेखि लामिडाँडा अघोर हुँदै सिमभञ्ज्याङ रिषेश्वर महादेवसम्म केबलकार स्थापना गर्ने आफ्नो योजना रहेको सुनाए । विकासका लागि सबै योजनाहरुको संकलन गरी आफू चुनावी अभियानमा लागेको उनले बताए । थाहा नगरमा पर्यटन र कृषिका दुई महत्वपूर्ण कलेज स्थापना गर्ने, आधुनिक नगरको रुपमा थाहालाई विकास गर्दै लैजाने, भीमफेदी चिसापानीगढी, कुलेखानी हुँदै मार्खुसम्म पर्यटकीय प्रवद्र्धनको लागि केबुलकार निर्माण गर्ने आफ्नो प्रतिवद्धता हुने उनले सुनाए । थानकोटदेखि चित्लाङ, मार्खु, देउराली हुँदै सिमभञ्ज्याङसम्म पैदल मार्ग, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तय गरेको राम्रा योजनाहरुको समुचित कार्यान्वयनमा जोड, सहकारीसँग समन्वय गरी एक टोल एक उत्पादन नीतिको तर्जुमा, पर्यटकी विकासका लागि सहुलियत तर स्वच्छ सफा होटलहरुको निर्माण गर्ने तर्फ आफू क्रियाशील हुने उनले सुनाए । उनका अनुसार, यो क्षेत्रमा पर्ने भैरवडाँडा र नकौली अनि आमभञ्ज्याङलाई कृषि र पर्यकीय क्षेत्रको रुपमा थप विकास गर्ने योजना छ ।
युवाहरुसँग प्राविधिक सिपको अभावमा विदेशिनु बाहेकको विकल्प नदेखिँदा प्राविधिक सिप सिकाइ केन्द्रको निर्माण, सहुलियतमा आयमुलक कार्यमा सहकारीमार्फत लगानीको व्यवस्था गर्ने उनको योजना छ । आफ्नो निर्वाचन क्षेत्रभित्र कम्तीमा पनि ३ ठाउँमा पुस्तकालय र सूचना केन्द्र निर्माण गर्ने उनको योजनामा उल्लेख छ । त्यो सूचना केन्द्रमा सबैतिरको सूचना केन्द्रीकृत गर्ने र त्यसलाई राष्ट्रिय मिडियासम्म पुर्याउने योजना उनले बताए । यि योजनाहरु कार्यान्वयन गर्न आफूले नीति निर्माण गर्नुपर्ने भएकाले थप सुझावको अपेक्षा रहेको उनले बताएका छन् ।