पुकार ओभरसिजका मालिकमाथि विप्लव कार्यकर्ताले लगाए कालोमोसो

पोखरा, २७ कात्तिक । विप्लवको नेतृत्वमा रहेको नेकपा पार्टीले पोखरामा एक म्यानपावर कम्पनीलाई विदेश जाने युवाहरु ठगेको आरोपमा कारवाही गरेको छ । पोखरामा रहेको पुकार ओभरसिजकै कार्यालयमा पुगेर विप्लवका कार्यकर्ताहरुले मेनपावरका मालिक खेम बराललाई कालोमोसो दलेको समाचार सार्वजनिक भएको
छ ।
विदेश जानेहरुसँग लिएको पासपोर्ट महिनौसम्म नदिने, लाग्ने शुल्क भन्दा दोब्बर तेब्बर शुल्क उठाउनेलगायतका आरोपहरु लगाउँदै बरालमाथि कारवाही गरिएको घटनापछि सार्वजनिक पर्चामा लेखिएको छ । उनलाई सम्झाइबुझाई गर्दा नमानेकोले चेतावनी स्वरुप यस्तो कारवाही गरिएको नेकपाले जनाएको छ । नेकपाको राष्ट्रिय युवा जनस्वयम्सेवक कास्कीले पुकार मेनपावरमाथिको कारवाहीका सम्बन्धमा पर्चामा त्यसो गर्नुपर्नाको कारणसहित उल्लेख गरेको छ ।