मकवानपुरमा ३ पुरुष र १ महिला पक्राउ

मकवानपुर, २७ कात्तिक । हेटौँडा उपमहानगरपालिका–३ स्थित लेवट चोकमा प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले आईतबार एक पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।
लेवट चोकमा बा.३४ प ४४७९ नम्बरको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजा फेला परेपछि मोटरसाइकलमा सवार बकैया गाँउपालिका–५ छतिवन बस्ने ३४ बर्षीय प्रशान्त दर्लामी र मनहरी–६ बस्ने ३८ बर्षीया शोभा घिसिङलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । उनीहरुको साथबाट ११ किलो ४ सय ६० ग्राम लागू औषध गाँजा फेला परेको थियो ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेक पोष्टमा खटिएको प्रहरी टोलीले आईतबार मुग्लिनबाट बिरगंजतर्फ जाँदै गरेको ना.४ ख.७४२० नम्बरको यात्रुवाहक बसमा जाँचका क्रममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बसमा सवार सर्लाही मलङ्वा नगरपालिका–४ बस्ने ३५ बर्षीय हेमन्त साह र १९ बर्षीय अवधेश राम चमारलाई २ किलो २ सय ग्राम गाँजा सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।