भुकम्प प्रभावितहरुको आसाअनुरुप कार्य गर्न नसकेको वडाअध्यक्षहरुको गुनासो

मकवानपुर, २७ कात्तिक । हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुले भुकम्प प्रभावितहरुको पक्षमा आशा गरेबमोजिम सरकारले कार्य गर्न नसकेको गुनासो गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा सोमबार हेटौंडामा भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापना विषयमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो गुनासो गरेका हुन् ।
सहभागिहरुको गुनासो पछि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुढाले सबै सरकारी तथा गैरसरकारी निकायले आफ्नो अधिकार क्षेत्र भित्र रहेर कार्य गरिरहेको र कुनैपनि कमीकमजोरी भएमा जिल्ला प्रमुखको हैसियतले आफूले त्यस्ता कमीकमजोरी हटाउन आवश्यक पहल गर्ने र कुनै पनि गुनासो भएमा आफूलाई जानकारी गराउन आग्रह गरेका छन् ।
कार्यक्रममा ट्रान्सपरेन्सीकी आर्थिक–कार्यक्रम अधिकृत बबिता शर्माले जिल्लामा ट्रान्सपरेन्सी इन्टरनेशनलले भुकम्प पीडितको लागि मकवानपुर जिल्लामा गरेका विभिन्न कार्यक्रमको जानकारी दिएकी थिईन् ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा भुकम्प पीडित तथा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, संघका पदाधिकारी, सदस्य, विभिन्न व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।