बर्षमान पुनलाई आक्रमण गर्ने विप्लवका कार्यकर्ता छोड्न राज्यमन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्डको आपत्ति

काठमाडौँ, २७ कात्तिक । माओवादी नेता तथा रोल्पाबाट माओवादीका तर्फका प्रतिनिधिसभा उम्मेदवार बर्षमान पुन अनन्तलाई प्रतिरोध गर्ने विप्लवका कार्यकर्ता छोड्न नेपाली काँग्रेसका तर्फबाट सिँचाइ राज्यमन्त्री रहेका अमरसिंह पुनले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशित देखिएका छन् ।
रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन बिछ्याइएको र ढुङ्गा मुढा गरी गोलीसमेत चलाएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्तिहरु छुटाउन सरकारकै मन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशमा आएका हुन् । सोमबार विहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले काँग्रेसका तर्फबाट राज्यमन्त्री भएका अमरसिंह पुनको नामै लिएर यसबारे आपत्ति जनाए । अनन्तलाई टार्गेट गरी भएको आक्रमणपछि विप्लवका केही कार्यकर्ता समातिएका थिए, उनीहरुलाई रिहा गर्न अमरसिंहले माग गरेपछि प्रचण्डले यस्तो भनेका हुन् ।
केही समयअघि पश्चिम रुकुमका माओवादी तर्फका उम्मेदवार जनार्दन शर्मामाथि पनि बम प्रहार भएको थियो । विप्लवले माओवादीकै उम्मेदवारहरु टार्गेट गर्न थालेपछि माओवादीका नेताहरुले यसमा आपत्ति जनाउँदै आएका छन् । प्रचण्डले पनि विप्वलले आफ्ना कार्यकर्तामाथि आक्रमण गरिरहेको दावी गरे ।