लक्ष्मीको शव ईराकबाट नेपाल झिकाउन सहयोगको अपिल, परिवार शोकमा

तु खबर संवाददाता
२०७४ कार्तिक २३, बिहीबार १२:२७

-चन्द्र घलान
मकवानपुर, २३ कात्तिक । ईराकको बासरामा मृत्यू भएकी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बकुण्ठकी २६ वर्षीया लक्ष्मी बलको शव नेपाल झिकाउन लागि सहयोगको अपिल गरिएको छ । उनको दुःखद निधनपश्चात शोकमा रहेको परिवारले सबैसँग सहयोग माग्दै सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् ।

उनको शव ल्याउन करिब ३–४ लाखको आवश्यकता रहेको र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सबैलाई सहयोग गरिदिनका लागि आग्रह गरिएको हो । उनको शव नेपालमा ल्याउनका लागि कैलाश गाउँपालिकाको तर्फबाट समेत सहयोगको पहल भईरहेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए । सहयोगका लागि कैलाश गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङको अगुवाईमा सहयोग कमिटि पनि बनेको उनको भनाई छ ।
त्यस्तै इराकको कुस्र्दिस्तानमा समेत आर्थिक सहयोग जुटाउन सुरु गरिएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर सामाजिक सेवामा अग्रसर हुँदै आएकी सानु शेर्पाको संयोजकत्वमा कुर्दिस्तान स्थित सुलेमनियामा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको बुझिएको छ ।

करिब साँढे २ वर्ष अगाडि रोजगारीको सिलसिलामा भारतको बाटो हुँदै ईराकको बासरामा घरेलु कामदारका रुपमा पुगेकी उनको केही साता अघि मात्रै आत्माहत्याको खबर आएको थियो । बैशाखदेखि नै सम्पर्कबिहिन भएकी उनले साँच्चै आत्माहत्या गरिन् वा उनी घरेलु हिंसामा परेर मृत्यू भोग्नु परेको हो त्यो भने अनुसन्धानको विषय बनेको छ ।

ईराकमा दलाल पुर्याइएकी उनको मृत्युको कारण भने अझै खुल्न नसकेको उनका आफन्त बताए । स्वर्गीय लक्ष्मीले सुरुका दिनदेखि नै काम गरेको घरमा केही समस्या भएको बताउँदै आएकी थिईन् । उनका पति अशोक बलका अनुसार गत बैशाखदेखि सम्पर्क विहिन भएकी लक्ष्मीको आत्महत्या गरेको खबर उनका आफन्त मार्फत थाहा भएको हो । उनका बुबा लाल मोक्तानले त्यस्तो खबर पाएपछि मृतकका आफन्तले लक्ष्मी कार्यरत घरमा फोन गर्दा उनलाई आफुहरुले टिकट काटी नेपाल पठाइसकेको जवाफ दिइएको आफन्तहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*