चोरीका सामानसहित मकवानपुर र सिन्धुलीका युवक पक्राउ

काठमाडौं, २१ कात्तिक । चोरी गरेर ल्याएका सामान सहित मकवानपुरका एक युवकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ बाफल डेरा गरी बस्ने मकवानपुरको हेटौंडा घर भएका ४२ वर्षीय अर्जुन कार्की र काठमाडौं सानोभर्याङ बस्ने सिन्धुलीका २६ वर्षीय रणबहादुर माझीलाई चोरी गरी ल्याएका मालसामान सहित मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
माझीले बिभिन्न ठाउँबाट मालसामान चोरी गरी कार्कीको कोठामा ल्याई राख्ने गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उक्त कोठामा छापा मारेको थियो । कोठाबाट मोबाईल, क्यामरा, टोपी ३२ पिस, नगद २ लाख ७२ हजार, मलेसियन रिङगेट ४, कतारको ९, जोर्डन १ र अमेरिकी डलर १ समेतका चोरी गरी ल्याएका विभिन्न सरसामानहरु सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–१ ईमाडोलस्थित कृष्ण मन्दिर नजिक रहेको सितापाखा बस्ने कल्पना थापाको न्यू राज डिजिटल होम नामक ईलेक्ट्रोनिक पसलबाट विभिन्न धनमाल चोरी भएको छ । सटरको ताला फोडी हिमस्टार कम्पनीको स्टिकर १ थान, टिभि र अन्य सामान गरी करीव १ लाख ७८ हजार रुपैयाँ बरावरको धनमाल गएराति चोरी भएको प्रहरीले जनाएको छ ।
नुवाकोटको सूर्यगढी गाउँपालिका–४ हल्देकालीकास्थित महिला विकास बहु–उद्धेश्यीय सहकारी संस्था लिमिटेडको मुलगेटको ताला फोडेर दराजमा रहेको ३ लाख ५० हजार रुपैयाँ गएराति चोरी भएको छ । चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।