हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा : उम्मेदवार फरक, योजना उही

तु खबर संवाददाता
२०७३ चैत्र २७,आईतवार ०४:५०

हेटौंडा, १ बैशाख ।आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा वडा नम्बर १ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सविन न्यौपाने,  नेकपा एमालेको तर्फबाट संभावित उम्मेदवार उत्तम शर्मा न्यौपाने, माओवादी केन्द्रका तर्फबाट मानबहादुर तामाङ, राप्रपाका तर्फबाट संभावित उम्मेदवार सुन्दर शाही सबैले वडाको विकासका लागि काम गर्ने बताएका छन् । 
तु खबरसँग कुराकानी गर्दै उम्मेदवारहरुले १ नम्बर वडाको विकासका लागि आ आफ्नो उम्मेदवारीको आकांक्षा राखेको बताएका छन् । अहिलेसम्म काँग्रेसको तर्फबाट सविन न्यौपाने र माओवादी केन्द्रको तर्फबाट मानबहादुर तामाङको उम्मेदवारी निश्चित भइसकेको छ । भने अन्य दलले अफ्नो उम्मेदवारको अन्तिम निर्णय गर्न बाँकी छ ।  १ नम्बर वडाका आकांक्षीहरुसँग हामीले कुराकानीको प्रयास गरेका थियौँ ।

सविन न्यौपाने, नेपाली काँग्रेस 
एक नम्बर वडा भनेको अत्यन्त संभावना र प्रसस्त चुनौती भएको वडा हो । अहिलेको परिवर्तित समयमा आर्थिक तथा सामाजिक रुपमा बलियो वडा निर्माण गर्ने दीर्घकालिन र अल्पकालिन योजनाहरु मसँग छन् । यो वडाका धेरैजसो ठाउँमा न्यूनतम पूर्वाधारसमेत पुगेको छैन । म निर्वाचित हुँदा बुँदागत रुपमै मैले वडालाई कसरी अघि बढाउने भन्ने योजना निर्माण गरिसकेको छ । छोटोमा भन्नु पर्दा समृद्ध वडा निर्माणका लागि मेरो उम्मेदवारी हो ।

उत्तम शर्मा, नेकपा एमाले 
हाम्रो पार्टीले हालसम्म उम्मेदवारको निर्णय गरिसकेको छैन । पार्टीको निर्णय अन्तिम हुने भएपनि यदि म उम्मेदवार भएमा यो वडाको विकासका लागि भूमिका निर्वाह गर्छु । यो वडालाई समृद्ध बनाउन, स्थानीय आवश्यकताको पहिचान गरी ग्रामिण भेगलाई विकसित बनाउन, राप्ती क्षेत्रको कटान नियन्त्रण गरी व्यवस्थित गर्न, खानेपानी, बाटोघाटोको उचित प्रवन्ध गर्ने मेरो योजना छ । 

मानबहादुर तामाङ, माओवादी केन्द्र
माओवादी केन्द्रले तय गरेको एजेण्डालाई स्थानीय तहमा सुनिश्चित गर्न, दलित, जनजाति, महिला, मधेशी, मुस्मिल, अल्पसंख्यकहरुको उन्नति र विकासका निम्ति मेरो उम्मेदवारी हो । यतिका बर्षसम्म काँग्रेस र एमालेले यो वडा चलाए । तर, जनताको लागि खास केही गरेनन । म उम्मेदवार भएमा स्थानीय स्तरमा खानेपानीको उचित प्रबन्ध गर्छु, कृषि उपजहरुको बजारीकरण, सडक निर्माण र जनतालाई चाहिने आधारभूत सेवाहरुको व्यवस्थापन मिलाउँछु । 

सुन्दर जंग शाही, राप्रपा 
म उम्मेदवार भएमा युवाहरुको प्रतिभालाई उजागर गर्न उचित काम गर्छु । जनताको आधारभूत आवश्यकता खानेपानी, बाटो र गरीव जनताको छोराछोरी पढाउन विद्यालयजस्ता पूर्वाधार निर्माणमा लाग्छु । खेलकुद, कला, सस्कृतिमा ह्रास आएकोले त्यसको विकासमा पनि भूमिका निभाउँछु । राप्ती खोलाको कारणले बस्ती धरासायी भएकोले त्यसलाई जोगाउन उचित काम गर्छु । 

सम्पादकीय दृष्टिकोण :
एक नम्बर वडाका अध्यक्षका  उम्मेदवारहरु बिभिन्न पार्टीका तर्फबाट फरक फरक हुनु स्वभाविक हो । तर, यि उम्मेदवारहरुले तु खबरसँग प्रस्तुत गरेको भनाइका आधारमा भन्ने हो भने सबैका एजेण्डा प्रायः उस्तै खालका छन् ।  राप्ती खोलाको कटानलाई रोकी बस्ती जोगाउने, खानेपानी, सडकको व्यवस्था गर्ने जस्ता एजेण्डाहरु सबै उम्मेदवारको छ । उपमहानगरपालिकाको वडा भएपनि विकासका दृष्टिकोणले अत्यन्तै पछाडि परेका कारण सबै पार्टीका सबै आकांक्षीहरुको योजना उस्तै देखिनु पनि स्वभाविक नै छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*