मनहरी गाउँपालिका – उपभोक्ता समिति मार्फत ७० प्रतिशत काम सकियो

वडाको भवन निर्माण गर्न ठेक्का दिइयो
तु खबर संवाददाता
२०७७ जेष्ठ ३२,आईतवार १६:००

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले हालसम्म आर्थिक वर्ष ०७६/७७ मा उपभोक्ता समितिमार्फत गर्नुपर्ने ७० प्रतिशत काम गरिसकिएको र ३० प्रतिशत काम गर्न बाँकी रहेको जनाएको छ ।

गाउँपालिकाले यस आवमा गाउँपालिकाका विभिन्न स्थानमा गरी ५ वटा पुल निर्माणका लागि निर्माण व्यवसायीलाई ठेक्का दिइएको र साँढे २ बर्षभित्र उक्त काम सकाउने समय सीमा रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार यसैवर्ष ६ वटा वडा कार्यालय र ६ वटा स्वास्थ्य इकाई भवन निर्माणको लागि पनि ठेक्का स्वीकृत गरिएको छ ।

आर्थिक वर्ष ०७६/७७ सकिनै लाग्दा, कृषि तथा पशुपालन, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विषयमा कामहरु भएको अध्यक्ष उप्रेतीले बताए । यसबर्ष कोरोनाको कारण पछिल्लो ३ महिना राहत वितरण, स्वास्थ्य परीक्षण, उद्दारलगायतका काममा व्यतित भएको उनको भनाई छ ।

आगामी आवको बजेट कति ?

मनहरी गाउँपालिकाको आगामी आर्थिक वर्ष ०७७/७८ का लागि संघीय सरकारबाट ३१ करोड रुपैँया विनियोजित भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् । गाउँपालिकाको स्थानीय स्रोतबाट करिब २० करोड रुपैँया व्यवस्थापन गर्ने गरी तयारी गरिएको उनको भनाई छ । बागमती प्रदेश सरकारको भोलि प्रस्तुत हुने आगामी आवको बजेटबाट पनि केही रकम विनियोजित हुने उनले बताए ।

आजै स्रोत व्यवस्थापनको बैठक बसेर आगामी आवको लागि बजेट व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको उनको भनाई छ । उनले यस आवमा गर्न बाँकी रहेका र रोकिएका कामहरु आगामी आवमा गरिने बताए ।

आगामी आवमा थप सिर्जनात्मक र जनहितका कामहरु गरिने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*