खेलकुद क्षेत्रमा राजनीति हावी हुनु हुँदैन – लामा

तु खबर संवाददाता
२०७८ आश्विन १०,आईतवार १९:०७

मकवानपुर । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका नेता सानु लामाले खेलकुद क्षेत्रमा राजनीति हावी हुन नहुने बताएका छन् । आफु खेलकुद विकास समितिमा निर्वाचित भएर आएपछि खेलकुद र राजनीतिलाई छुट्टाछुट्टै रुपमा अघि बढाएकोसमेत उनले बताए ।

तु खबरसंगको कुराकानीमा उनले राजनीतिक प्रभावका कारण खेलकुद क्षेत्र प्रभावित हुन नहुने बताए । ‘खेल क्षेत्र र खेलाडीहरु राज्यको गहना हुन् । त्यसकारण यस्तो क्षेत्रमा राजनीति हावी हुनु हुँदैन भन्ने मेरो मान्यता हो । मैले पनि संस्थाको नेतृत्व गर्दैगर्दा राजनीति र यो खेललाई बेग्लाबेग्लै तरिकाले अघि बढाएको छु । खेल क्षेत्रलाई स्थानीय वडा तथा टोलतहसम्म पुर्याउन आवश्यक रहेको र आफु सोही गतिविधिमा क्रियाशील हुँदै आएकोसमेत उनले दावी गरे ।

२०७६ साल माघ २१ गते लामाले जिल्ला खेलकुद विकास समितिको नेतृत्व गरेपछि समितिले हेटौंडा उपमहानगरपालिका वडा नं १५ मा केन्द्र र प्रदेश सरकारको लगानीमा बहुबर्षीय योजना अन्तरगत निर्माण भइरहेको रंगशालाको समन्वय र निगरानी गरिरहेको छ । सोही रंगशालामा खेलकुद विकास समिति नै संयोजक रहेर प्याराफिटसहित फुटबल मैदान निर्माण भइरहेको छ ।

उनकै अगुवाइमा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुप्रचौरमा ‘राष्ट्रपति रनिङशिल्ड फुटबल प्रतियोगिता’ आयोजना गरिएको थियो । जिल्ला खेलकुद समितिको पहल र विभिन्न संघसंस्थाका आर्थिक सहयोगमा हेटौंडा १३ मा खुल्ला जिम कभर्ड हल, रमन्थली फुटबल मैदान निर्माण भइरहेको छ । कभर्ड हल र फुटबल मैदान निर्माणको लागि पनि उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

२०७६ सालमा हेटौंडा ५ पिप्लेमा बहुउद्देश्यीय कर्भड हल निर्माण सम्पन्न भइसकेको र हेटौंडा ८ कर्रामा बहुउद्देश्यीय तेक्वान्दो कभर्ड हल र क्योसिन कराँते बालकुमारी हल पनि विभिन्न संस्थाको आर्थिक सहयोगमा निर्माणाधीन अवस्थामा रहेको छ । हेटौंडा १५ मा पनि फुटबल चौर निर्माणको काम सुरु भएको छ । समितिले विभिन्न म्याराथु दौड आयोजना गरेको उनले स्मरण गरे । स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा ‘सुमन भोम्जन स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ र मेयर कप फुटबल प्रतियोगिता पनि आयोजना भएको उनी बताउँछन् ।

कोरोनाको संक्रमणबाट बँच्न सरकारले लकडाउन जारी गरेपछि खेलकुद विकास समितिले पनि सोचेजस्तो काम गर्न भने नपाएको र अब बाँकी योजनाहरुलाई तीब्रताका साथ अघि बढाउने सोचमा उनी छन् । खेल क्षेत्रमा देखिएको विवाद समाधानको लागि आफुले पहल गर्दै आइरहेको बताउँदै खेलाडीको मनोभावना अनुसार फुटबल, भलिबल, क्रिकेट र कराँते क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइएको र अन्य खेल पनि संचालन गरिएको उनले बताए ।

२०३६ साल कार्तिक १७ गते काभ्रेको तेमालमा जन्मिएका उनी सानैदेखि खेलकुदमा रुचि राख्थे । सानैदेखि बक्सर बन्न औधी मन गर्ने उनी शारिरिक सुगठन (बडि बिल्डर्स) क्षेत्रमा पनि सक्रिय छन् । उनी आफैँ कराँते र खेलाडी हुन् । विभिन्न समयमा यस क्षेत्रमा सक्रियतापूर्वक काम गरेर अनुभव संगालेका लामा २०७६ सालबाट भने मकवानपुर शारिरिक सुगठन (बडि विल्डर्स)को सल्लाहकारको रुपमा आवद्ध छन् ।
माध्यमिक तहसम्मको अध्ययन पुरा गरेका उनी तामाङ चलचित्र संघ मकवानपुर, कर्राबती आर्यघाट र कर्रा एफसी पोतला क्लबको सल्लाहकार पनि हुन् । त्यस्तै बिगत ३ बर्षदेखि तामाङ कलाकार मकवानपुरको प्रमुख सल्लाहकारको रुपमा आवद्ध छन् ।

त्यस्तै लागूऔषधमा फसेका युवाहरुलाई खेलकुदमा आवद्ध गराई शारिरिक र मानसिक रुपमा व्यस्थ र स्वस्थ बनाउने उदेश्यका साथ उनले कर्रा नेटवर्क नामक संस्थाको अगुवाई गर्दै आइरहेका छन् । २०७१ सालमा संस्थाको संयोजक भएर हालसम्म काम गरिरहेको उनी
बताउँछन् ।