मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्री खुल्ला

तु खबर संवाददाता
२०७७ आश्विन ४,आईतवार १७:३०

मेगा बैँक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर लिलामीमा विक्रि गर्ने भएको छ ।
बैँकले गोप्य शिलबन्दी आव्हन समेत गरिसकेको छ ।

मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

सर्वसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपैया र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।

उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड ९पिपलबोट०, ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*