जितिया पर्वको व्रत बसेकी वृद्धाको मृत्यु
महोत्तरी, ६ असोज । महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ ।
एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने ७१ वर्षीया मिथिलेश देवी पाण्डेको ब्रत बसेको अवस्थामा मृत्यु भएको हो ।
यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको एक स्थानीयले बताए ।
जितिया पर्वको समापनअघि कुनै खानेकुरा वा पानी खाएमा व्रत भङ्ग हुने मान्यता छ ।
यस वर्षको जितिया पर्व शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम थियो ।