महानगरलाई टेर्दैनन् विकासे अड्डा

२०७६ श्रावण ३०,बिहीबार ०८:४०

काठमाडौं महानगरपालिकाले विकासका काममा समन्वय गर्न सरोकारवाला निकायलाई पटक–पटक पत्रचार गर्ने गरेको छ । तर, महानगरका पत्रलाई ती निकायले बेवस्ता गर्दै आएका छन् । काठमाडौंको विकासलाई एकद्वार नीति र एकीकृत योजनाअनुसार गर्न भन्दै महानगरले समन्वयको प्रयास गर्दै आएको छ ।

उपत्यकाको विकास निर्माणमा सरोकार राख्ने निकायले महानगरलाई बेवास्ता गरेपछि बुधबार मेयर विद्यासुन्दर शाक्यले सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वन निर्देशनालयका प्रतिनिधिसँग छलफल गरेका छन् ।

शाक्यले प्रतिनिधिसँग समन्वय हुन नसक्नु र गर्ने भनिएका काम नहुनुका कारणबारे प्रश्न गरेका छन् । ‘हामी निर्वाचित भएर आएलगत्तै २ असारमा तत्कालीन गृहमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको विकासलाई एकद्वार नीति र एकीकृत योजनाअनुसार गर्ने निर्णय गरिएको थियो,’ उनले भने, ‘बैठक बस्यो, निर्णय भयो, तर कार्यान्वयन भएन ।

पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा पनि बैठक बस्यो । अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्ने भन्दै बैठक सकियो । त्यसैअनुसार महानगरमा कहिले म आफैँ बसेर बैठक गरेँ, कहिले प्रशासकीय अधिकृतले बैठक गर्नुभयो । योजना बनाइयो । योजना कार्यान्वयन गर्ने भनियो, तर जनताले महसुस हुने गरी एकीकृत रूपमा परिवर्तन भएन ।’उनले अब छलफल मात्र गरेर नहुने उल्लेख गर्दै विगतमा भएका निर्णय कार्यान्वयन गर्न नसक्नुको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए ।

‘जनता आफ्ना समस्याको समाधान खोज्न कुनै विभाग वा निकायमा जाने होइन । न त जनता यसो भन्दैछन् भनेर जनप्रतिनिधि तपाईंकोमा जाने हो । अब सबैले आफ्ना—आफ्ना जिम्मेवारीभित्र परेका काम समयमा नै सम्पन्न गर्नुपर्छ,’ छलफलमा उनले भने, ‘यो मेरो निर्देशन होइन, अनुरोध हो । जो जुन काम गर्नका लागि स्थापना भएको हो, जसको नियमित काम नै त्यही हो । ती निकायलाई निर्देशन दिनु पर्दैन । आफ्नो जिम्मेवारी तोकिएको समयभित्र पूरा गर्नुपर्छ भन्ने मेरो आग्रह हो ।’

छलफलमा सहभागी सडक विभागका इन्जिनियर सुदर्शन कार्की, दीप बाराही, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल महाशाखा प्रमुख अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका उपकार्यकारी निर्देशक मिलन शाक्यले आफूहरूले नियमित काम गरिरहेको दाबी गरेका थिए ।

आजको नयाँपत्रिकामा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*