समृद्ध भारत नेपालका लागि पनि अवसर हुने

२०७६ श्रावण २९,बुधबार १७:४५

काठमाडौं २९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् ।

बुधबार भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताए ।

मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा ठूला–ठूला उपलब्धि हासिल गरेको र विश्वका ५–६ वटा ठूला अर्थतन्त्रमध्येमा भारत पनि पर्न सफल भएको बताए ।

नेपाल र भारत आर्थिक विकासलाई केन्द्रबिन्दु बनाएर बलियो आर्थिक साझेदारी गर्न लागेको उल्लेख गर्दै उनले दुई देशबीच धेरै योजना सम्पन्न भएका र केही योजना प्रगतिउन्मुख भएको बताए ।

पछिल्लो समयमा दुई देशबीच सहयोगका तीन क्षेत्रमा आयोजनाहरु अघि बढेको उल्लेख गर्दै उनले सीमापार रेलमार्ग, आन्तरिक जलमार्ग तथा कृषिमा साझेदारीअन्तर्गत सहयोग अघि बढाइएको जानकारी दिए ।

नेपालमा भारतबाट विप्रेषण आउने मात्र नभई नेपालबाट पनि विप्रेषण भारत जाने गरेको पनि मन्त्री ज्ञवालीले भने ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*