पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा

२०७६ श्रावण २९,बुधबार ०७:५८

मास्टर अफ ल (एलएलएम)को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् ।

पहिलो नतिजामा ४६.३३ प्रतिशत प्राप्त गरी
२९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । पहिलो सूचीमा ७७ प्रतिशत ल्याई ९ नम्बरमा नाम निकालेका सुरज सेजुवाल अहिले ७८ प्रतिशतसहित ८ नम्बरमा आएका छन् ।

पहिलेको सूचीमा २९८ नम्बरमा रहेका सुवास भण्डारीको नाम दोस्रो सूचीमा २२ नम्बरमा छ । पहिले ६७ नम्बरमा रहेकी यमुना सिंखडा अहिले ५८ नम्बरमा छिन् । त्यस्तै, पहिले ७७ नम्बरमा रहेकी प्रवीणा कटुवालको नाम पछिल्लो सूचीमा ६७ नम्बरमा छ । ११० नम्बरमा रहेकी सुजना कोइरालाको नाम अहिले १०२ नम्बरमा निस्किएको छ । त्यस्तै पहिले ११२ नम्बरमा रहेका सबिन तामाङ अहिले १०७ मा तानिएका छन् ।

नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । पहिलो सूचीमा ९७ नम्बरमा नाम निकालेकी श्वेता रानाभाट दोस्रो सूचीमा १८२ नम्बरमा धकेलिएकी छिन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । मंगलबार नेपाल ल क्याम्पस पुगेकी रानाभाटले भर्ना तयारीमा लागिरहेका वेला नतिजा उल्ट्याउँदा अवसरबाटै वञ्चित भएको बताइन् ।

अर्का विद्यार्थी सोहन श्रेष्ठको पनि उस्तै अवस्था छ । पहिलो सूचीमा ३८ नम्बरमा नाम निकालेका श्रेष्ठको नाम दोस्रो सूचीमा २९७ नम्बरमा पुगेको छ । पहिले १ नम्बरमा नाम निकालेर अहिले तेस्रो नम्बरमा धकेलिएका गिरिराज अर्यालले डिन कार्यालयबाट ठूलो धोका भएको भन्दै गुनासो गरे । एलएलएम प्रवेश परीक्षामा कोटाभित्रै नाम निस्किएपछि भर्ना अभियानमा लागेका विद्यार्थी निराशसँगै आक्रोशित पनि भएका छन् ।

डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् ।

आजको नयाँ पत्रिकामा समाचार छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*