खुकुरी प्रहारबाट ३ जना घाईते, एकको अवस्था गम्भीर

२०७६ श्रावण २८,मंगलवार १७:५७

काठमाडौं, २८ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरेका छन् ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन् ।

घाइतेमध्ये श्रीमती गीताको अवस्था चिन्ताजनक छ ।

घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ ।

उक्त घटनापछि घर्ती फरार रहेका छन् । उनले घटनापछि फेसबुकमा स्टाटस राख्दै सासुआमाका कारण आफ्नो घरबार बिग्रेको आरोप लगाएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । फरार घर्तीको खोजीकार्य भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*