मकवानपुरगढीको मकैबारीमा बाँदरको रजाँई

२०७६ श्रावण २८,मंगलवार १७:४१

मकवानपुर २८ साउन । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ का किसान शिवप्रसाद चौँलागाईको बारीमा यतिबेला मकै पाक्ने बेला भएको छ । जहाँ मकै खेती छ, त्यहीँ बाँदरको बगालै पुगेर मकै तहसनसह गरिदिन्छ ।
‘दुः ख गरेर मकै रोप्यौँ, गोढ्यौँ, अहिले मकै पाक्ने बेला भो, तर बाँदरबाट जोगाउनै मुस्किल छ ।’ उनी गुनासो गर्दै भन्छन् ।

बारीको वरपर रुखमा बाँदरको ठूलो बगालै छ, ठूला रुखविरुवा अनि बाँसघारीको कारण बाँदर धपाउन निकै समस्या भएको उनी बताउँछन् । ‘मान्छेभन्दा छिटो बाँदर एक ठाउँबाट अर्को ठाउँमा दौडिन्छ । यताबाट लखेटे उताबाट खाइदिन्छ, अनि उताबाट लखेटे यता खाइदिन्छ । निकै समस्या भो ।’ उनी भन्छन् ।

बाँदरले किसानको बारीमा भएको मकै त तहसनहस गर्छनै महिला केटाकेटी अनि अपांगलाई समेत झम्टने र टोक्ने गरेको उनी बताउँछन् ।

आफ्नै छिमेकीलाई गत शनिवार बाँदरले झम्टेको पनि उनी बताउँछन् । उनका छिमेकीले आफ्नो बारीबाट बाँदरले मकै भाँच्दैै रुखमा लैजाँदै गरेको देखेपछि बाँदर धपाउन खोजे तर उनलाई बाँदरले झम्टिन आएपछि उनी आत्तिँदै रोडतर्फ आए अन्य गाउँलेहरुको पहलमा बाँदर धपाइयो । – चौलागाईले भने ।

बाँदरले अन्नबाली खाने, तहसनहस गर्ने गरेकोले निकै क्षति पुगेको चौलागाई बताउँछन् । ठूलो संख्यामा बाँदरको बगालनै आउन थालेपछि स्थानीय बासिन्दा समेत निराश भएका छन् ।

बाँदरले मात्र नभई आजभोली वन कुखुरा, मृग, दुम्सी, सलमाछा जस्ता जँगली पशुपक्षिले समेत दुःख दिन थालेपछि मकवानपुरगढीका स्थानीय समस्यामा परेका छन् ।

जँगली पशुपक्षिले राती आएर हरिया सागपात, तरकारीसमेत नोक्सान गरिदिने गरेको स्थानीयको गुनासो छ ।

लामखुट्टेको कारण डेँगुको संभावना

मकवानपुरगढी गाउपालिकाका अधिकाँश स्थानमा लामखुट्टे पनि अत्याधिक रुपमा देखापर्न थालेको छ । जसको कारण विभिन्न रोगलाग्न सक्ने संभावना देखिएको छ ।  मकवानपुरमा डेँगुबाट प्रभावित मानिसको संख्या बढेको बेला लामखुट्टेको टोकाईबाट बच्न नसके निकै समस्या हुने देखिन्छ ।

लामखुट्टेले घर पालुवा जनावरलाई समेत टोक्ने गरेको स्थानीयहरु गुनासो गर्छन् । स्थानीय तहले लामखुट्टे मार्ने अभियान चलाउनुपर्ने र लामखुट्टेबाट बच्ने गतिलो व्यवस्था गरिदिनुपर्ने स्थानीयको माग छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*