सगरमाथा आरोहणबाट ४४ करोड राजस्व संकलन

२०७६ श्रावण २८,मंगलवार ०८:२७
file photo

विश्वको अग्लो चुचुरो मानिएको सगरमाथा आरोहणबाट यस वर्षको वसन्तकालीन मौसममा राज्यले ४४ करोड २३ लाख रुपैयाँ राजस्व उठाएको छ। पर्यटन विभागका अनुसार सरकारले हरेक वर्ष दुईपटक सगरमाथा आरोहणको अनुमति दिने गरेको छ ।

जसअनुसार वसन्तकालीन मौसममा मार्च, अप्रिल र मे महिनाका लागि आरोहण अनुमति दिइन्छ भने शरद्कालअन्तर्गत अक्टुबर, नोभेम्बर र डिसेम्बर महिनाका लागि आरोहण अनुमति दिइन्छ । वसन्तकालीन मौसम भर्खरै सकिएको छ ।

विभागका अनुसार वसन्तकालीन मौसममा ४४ आरोहण समूहलाई सगरमाथा आरोहणको अनुमति दिइएको थियो । ४४ आरोहण समूहका ६ सय ४२ जनाले वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमति लिएको विभागले जनाएको छ। तीमध्ये ३ सय ८१ जनाले आरोही र बाँकी २ सय ६१जना आरोहीका सहयोगी, गाइड र शेर्पा थिए।

सगरमाथा आरोहण असुरिक्षत हुँदै गएको र आरोहण दलसँगै जाने सम्पर्क अधिकृत (लियाजन अफिसर) बेसक्याम्पमै नपुगी आरोहण प्रमाणित गर्ने गरेको समाचार आएपछि छानबिन गर्न समिति गठन भएको छ ।

आरोहण अनुमति लिएका मध्ये २ सय ८१ आरोही सगरमाथा चुचुरोमा पुगेका थिए । यसैगरी ३ सय ७८ जना सहयोगी र गाइड पनि सगरमाथा चुचुरोमा पुगेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार वसन्तकालीन मौसममा विदेशी आरोहीबाट ४४ करोड १३ लाख ८७ हजार ८ सय ६२ रुपैयाँ र नेपाली आरोहीबाट १० लाख ५० हजार रुपैयाँ राजस्व जम्मा भएको विभागले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*