मुख्यमन्त्री पौडेलको बोलीको ठेगान भएन…

प्रदेशको राजधानी कहिले हेटौँडा कहिले नुवाकोट
२०७६ श्रावण २४,शुक्रबार १२:२२

मकवानपुर २४ साउन । ३ नम्वर प्रदेशको राजधानीको विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले एकाएक बोली फेर्न थालेका छन् । केही महिना अघिसम्म प्रदेशको राजधानी हेटौँडानै हुन्छ भन्दै दावी गर्दै आइरहेका मुख्यमन्त्री पौडेलले हिजो विहिबार संघीय राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेशको राजधानी नुवाकोट लैजान आफु तयार भएको बताए ।

पौडेल मुख्यमन्त्री भएपछि ‘मुख्यमन्त्री’ पदसंग प्रदेशको राजधानी साटेको आरोप उनीमाथि थियो । त्यसपछि उनले आफुमाथिको आरोप झुटो सावित गर्न विभिन्न सभा तथा समारोहमा प्रदेशको राजधानी हेटौँडानै हुने भन्दै दावी गर्दै आएका थिए ।

उनले गत वैसाख २४ गते मकवानपुरस्थित हेटौँडा एफएमले आयोजना गरेको एक समारोहमा बोल्दै, हेटौँडा प्रदेशको राजधानी हुनैपर्ने र हुने भन्दै दावी गरेका थिए । उनले भनेका थिए, ‘ म मुख्यमन्त्री भएकोले मात्रै राजधानी हेटौँडा भएको हो, नत्र प्रदेश सरकार गठन भएको भोली पल्टै हेटौंडाबाट राजधानी सारीसक्थे । ’ उनले कुनैपनि हालतमा राजधानी हेटौँडाबाट नसर्ने भन्दै आश्वासन बाँडेका थिए ।

त्यस्तै गत असोज ९ गते न्यूज क्लव नेपालको उद्घाटन समारोहमा पनि उनले प्रदेशको राजधानी हेटौँडाबाट सार्न षडयन्त्र भइरहेको भन्दै आफु छन्जेल प्रदेशको राजधानी कतै नसर्ने दावी गरेका थिए । आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटौंडामा राजधानी अत्यन्त उपयुक्त छ, –उनले भनेका थिए ।

तर मुख्यमन्त्री पौडेलले हिजो विहिबार काठमाडौँमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै प्रदेशको राजधानी नुवाकोट सार्न आफु तयार भएको बताएपछि  उनको चौतर्फी आलोचना भएको छ ।

उनले अहिले चर्चामा रहेका जिल्लाहरु बाहेक नुवाकोटमा राजधानी सार्न आफु तयार भएको बताए । तर उनले हेटौँडाको भने विषयनै उठान गरेनन् ।

उनले भने – ३ नम्वर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने हो, नुवाकोट लैजान म पनि तयार छु ।

परिस्थिति अनुसारको धारणा व्यक्त गर्दै जनता झुक्याउन पल्केका मुख्यमन्त्री पौडेलको चाल बुझेपछि उनको आलोचना सुरु भएको हो ।

मुख्यमन्त्री पौडेलको भाषण धेरै काम कम

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भाषणको तुलनामा काम भने निकै कममात्रै गर्न सकेका छन् । विभिन्न सहकारीको साधारणसभामा समेत पुगेर भाषण गर्न भ्याउने मुख्यमन्त्रीले विकास निर्माणका काम भने खासै गर्न भ्याएनन् । गत आर्थिक वर्ष ०७५/ ०७६ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले २४ दशमलव ९२ प्रतिशत मात्रै खर्च गरेको छ ।

प्रदेश कोष लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार कुल बजेट ४९ करोड ९८ लाख २२ हजार रुपैयाँ मध्येमा १२ करोड ४५ लाख ७६ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

मुख्यमन्त्री कार्यालयले चालु खर्च ३८ दशमलव १५ प्रतिशत खर्च गरेको छ । पुँजीगत खर्च भने १२ दशमलव २२ प्रतिशत मात्रै गरेको तथ्याङ्क छ ।

भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापीतलाई पदबाट बर्खास्त गरेपछि उनै मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत  जिम्मेवारी सम्हालेका छन् । तर दुवै मन्त्रालय हाँक्ने आँट गरेका मुख्यमन्त्रीले काम भने जनताको अपेक्षा अनुसार गर्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस् ।

 

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*