‘अब जनप्रतिनिधिले नतिजा देखाउने बेला आएको छ’ : वडाध्यक्ष खड्का

२०७६ श्रावण २१,मंगलवार १५:११

मकवानपुर २१ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ध्रुव खड्काले चालू आर्थिक बर्ष २०७६/७७ का लागि ४ वटा मात्रै योजना निर्माण गरेका छन् ।

वडाध्यक्ष खड्काका अनुसार, न्यौपाने टोल ऋषेश्वर बाटो र बाँधका लागि ३० लाख, दीपावली टोल तटबन्धनका लागि २० लाख, ट्वाङ्ग्रा खोला पक्की पुलका लागि ५० लाख र ट्वाङ्ग्रा खोला तटबन्धनका लागि १७ लाख रुपियाँ बिनियोजन गरिएको छ । ‘सँधैभरि बजेट छरेर मात्रै पनि भएन’, वडाध्यक्षखड्काले भने–‘अब जनप्रतिनिधिले नतिजा देखाउने बेला आएको छ ।’

साबिक हाँडीखोला गाविसतर्फ निर्माणाधीन लामिटार–मकरी सडकको औचित्य र आवश्यकतालाई समेत दृष्टिगत गरी लामिटार र मसिने जोड्ने ट्वाङ्ग्रा खोलामा पक्की पुलका लागि वडाले नै अगुवाई गरी बजेट बिनियोजन गरिएको उनले बताए ।

त्यसैगरी गोलघरदेखि वडा नं ४ कै अत्यन्त दुर्गम क्षेत्रहरुमा पर्ने मुलखोला र ज्यामिरेसम्म तटबन्धन र बाटोको कामलाई पनि आगामी दिनमा ध्यान दिएर अघि बढ्ने उनले सुनाए । यसका लागि यसैबर्ष तटबन्धन र बाटो दुबै काम हुने गरी योजना हालिएको बताए ।

सबै वडाध्यक्षहरुलाई बढीमा ५० लाख रुपियाँको योजना सिफारिस गर्न भनिएको र त्यसमा गाउँपालिकाको तर्फबाट पनि आवश्यकता अनुसार बजेट थप गरी पूर्णता दिइने गरी योजना तर्जुमा गरी गाउँसभामामार्फत पारित गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*