हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग बन्द गर्ने चेतावनी

२०७६ श्रावण २१,मंगलवार ०९:२१

मकवानपुर २१ साउन । भीमफेदी–कुलेखानी सडकमा मिनी ट्रक चलाउन प्रतिबन्ध लगाएपछि ईन्द्रसरोवरका मिनी ट्रक व्यवसायीहरुले हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

सिस्नेरी, फाखेल र कुलेखानीका मिनी ट्रक व्यवसायीको ट्रक चल्न प्रतिबन्ध लगाइएपछि व्यवसायीहरुले उक्त मार्ग बन्द गर्न चेतावनी दिएका हुन् । अहिले उक्त स्थानमा बीरगंजबाट आएका टाटा मोवाई, डिआईहरुले तरकारी बोकिरहेका छन् ।

प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमको अनुदानमा सञ्चालन गर्रिएको किसानको तरकारी ओसार्ने ट्रक पनि प्रतिबन्धमा परेको सिस्नेरीका शिबराम पौडेलले जानकारी दिए ।

कुलेखानी, फाखेर र सिस्नेरीका ३५ वटा मिनी ट्रक तीन हप्तादेखि भीमफेदी–कुलेखानी रुटमा चल्न पाएका छैनन् । तरकारी बोकेका गाडीले आफ्नो घर चर्किएको भन्दै सडक छेउका होटल तथा घरधनीले पनि ट्रक चल्न नदिएको व्यवसायीहरुले गुनासो गरे ।

व्यवसायीहरुले बुधबार बिहानदेखि ३५ वटै मिनी ट्रक कुलेखानीको हेभीमा राखेर यातायात अवरुद्ध गर्ने चेतावनी दिएका छन् । कुलेखानीका देवराज थापा, फाखेलका विकास कार्की र सिस्नेरीका शिवराम पौडेलले यसको नेतृत्व गरिरहेको बताइएको छ । आफ्नो निजी खेतबारीमा खनिएको सडकमा आफ्नै गाडी गुडाउन प्रतिबन्ध लागेपछि आन्दोलनमा उत्रन बाध्य भएको पौडेलले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*