काँग्रेसले लगाएको ताला, कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले एक घण्टा नबित्दै खोले

२०७६ श्रावण १७,शुक्रबार १९:४५

मकवानपुर १७ साउन । मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा आज शुक्रबार नेपाली काँग्रेसका ४ नम्बर क्षेत्रिय सभापति लोकबहादुर मोक्तानको नेतृत्वले लगाएको ताला एक घण्टा नबित्दै खोलिएको छ ।

स्थानीय प्रहरीको रोहबरमा गाउँपालिका अध्यक्ष टंक मोक्तान आँफैले कार्यालयको गेटमा लगाइएको ताला खोलेको स्वीकार गरेका छन् ।

यसबारे तु खबरले गाउँपालिका अध्यक्ष टंक मोक्तानसंग जिज्ञासा राख्दा उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आफुहरुले ताला खोलेको बताए । उनले भने ‘नेपाली काँग्रेसले ताला लगाएको भनिए पनि कुनै ब्यानर, झण्डा तथा तथा लिखित दस्ताबेज बिना नै तालाबन्दी गरियो । केही मानिसहरु आए नाराजुलुस गरे र कर्मचारी बाहिर निकालेर ताला लगाए । उहाँहरुले के माग गर्नुभएको हो ? लिखित रुपमा केही दिनुभएन ।’ ताला लगाएपछि दैनिक प्रशासनिक काममा बाधा पर्यो त्यसकारण हामीले ताला खोल्यौँ । ’

किन लगाइएको थियो ताला ?

आज शुक्रबार नेपाली काँग्रेसले कैलाश गाउँपालिकाको कार्यालयमा ताला लगाएको थियो । बजेट निर्माणका क्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले ‘मनपरी’ गरेको, वडाबाट सिफारिस भएका योजनालाई गाउँपालिकाले समावेश नगराएको, समयमा बजेट नल्याएको र पक्षपाती ढंगले आफु निकटका अध्यक्षको वडामा मात्रै बजेट विनियोजन गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले तालबन्दी गरेको थियो ।

कार्यपालिका बैठकमा गाउँपालिकाका अध्यक्ष मोक्तानले एकपक्षीय ढंगले कांग्रेसबाट जितेका अध्यक्षहरुलाई पेलेर आफु खुशी योजना बाँडफाँड गर्न खोजेको तर त्यसो नगर्न आग्रह गर्दा वेवास्ता गरेको काँग्रेसको आरोप थियो ।

कांग्रेसले यसअघि पनि गाउँपालिका उपाध्यक्षलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएपनि कुनै वास्ता नभएको भन्दै असन्तुष्टि पोखेको हो ।

कांग्रेसका नेताहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै गाउँपालिका अध्यक्षको प्रवृत्ति गलत रहेको भन्दै नारावाजीसमेत गरेका थिए ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*