कांग्रेसमा १५१ जनालाई कारवाही गरिने

२०७६ श्रावण ८,बुधबार ०८:५५

एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १ सय ५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १ सय २८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो ।

गत सोमबार सोलुखुम्बू, रौतहट र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारी गरेको छ । चुनावमा बागी उम्मेदवार, उनीहरूको प्रस्तावक र सर्मथकविरुद्ध कारवाही गर्न जोड गरिएको छ ।

कांग्रेसमा आन्तरिक अनुशासन नाजुक रहेको टीकाटिप्पणी भइरहँदा समितिले पछिल्लो समय कारवाही तीव्र पारेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

स्थानीय तहको निर्वाचनलगत्तै सभापति शेरबहादुर देउवाले पार्टीभित्रबाटै चुनावमा व्यापक असहयोग भएको भन्दै रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेका थिए । समितिले प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि उजुरी संकलन गरे पनि कारवाही प्रक्रिया नथाल्दै रिजालले राजीनामा दिएका थिए ।

त्यसपछि गएको चैतमा कांग्रेस केन्द्रीय समितिले भीष्मराज आङदेम्बेको संयोजकत्वमा अनुशासन समिति पुनर्गठन गरेको थियो । आङदेम्बेले आएका उजुरीको अध्ययनपश्चात् स्पष्टीकरण सोधिएको र त्यसपछि मात्र कारवाही प्रक्रिया थालिएको बताए । ‘हामीले त्यत्तिकै कारवाही गर्ने निर्णय गरेका छैनौं’, उनले भने, ‘एक चरणको स्पष्टीकरणपछि मात्र पार्टीको अभिलेखबाट अहिले नाम हटाउन हामीले निर्देशन दिन थालेका हौं ।’

समितिले यतिबेला निष्काशनभन्दा पनि नाम किटान गरेर उनीहरूको अभिलेख पार्टीबाट हटाउन निर्देशन दिएको छ । आङदेम्बे नेतृत्वमा समिति गठन गर्दा पार्टीभित्र असन्तुष्टिका स्वर उर्लिएका थिए । सभापति शेरबहादुर देउवाविरोधी पक्षले अनुशासनको आडमा सभापतिले विरोधी नेतालाई पेल्न सक्ने अनुमान गरेका थिए । त्यसपछि सभापति देउवा र देउवाविरोधी नेताबीच समितिका निर्णय सर्वसम्मत तरिकाले गर्ने सहमति गरी समिति गठन गरिएको थियो ।

तर असार ३ मा एकैचोटी समितिले सयभन्दा धेरै नेता कार्यकर्ताविरुद्ध कारवाही गर्ने निर्णय गर्दा समिति सदस्य उमाकान्त चौधरीले आफूलाई कुनै जानकारी नदिएर निर्णय गरेको आरोप लगाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*