असई चित्र खड्काको झुट : पत्रकार पुडासैनी धम्क्याउने घिमिरेलाई भेटेर पनि भेटिएन भन्दै रिपोटिङ

२०७६ श्रावण १,बुधबार ०९:२२

मकवानपुर, १ साउन । तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई समाचार लेखेकै आधारमा धम्की दिने मकवानपुरगढीका स्ल्याब ढलान उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद घिमिरेलाई हिजो साँझ प्रहरीले ‘फेला’ पार्न सकेन ।

गढी प्रहरीका इन्चार्ज असई चित्र खड्काले घिमिरेलाई फेला पार्न नसकिएको तु खबरलाई जानकारी दिए । तर, यसको वास्तविकता भने अर्कै थियो ।

मकवानपुर एसपी मुकेश सिंहले पत्रकार पुडासैनीलाई धम्की दिने घिमिरेलाई पक्राउ गर्न असई खड्कालाई निर्देशन दिए । असई खड्का पनि घिमिरेको खोजतलासका लागि मकवानपुरगढी गाउँपालिका अगाडि पुगे । उनले त्यहाँ घिमिरेलाई फेला पारे । त्यतिबेला केही स्थानीय र गाउँपालिकामा कार्यरत कर्मचारी पनि त्यहिँ थिए ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले पत्रकारलाई धम्की दिने घिमिरेलाई पक्राउ गर्न दिएनन् । एसपी सिंहलाई फोन गरेर गाउँपालिका अध्यक्ष हुमागाईंले मंगलबार पक्राउ नगर्न र बुधबार आफै प्रहरी कार्यालयमा लिएर आउने दबाब दिएपछि खड्का त्यहाँबाट फर्किए । एसपी सिंहले पनि बोली फेरे ।

एसपी सिंह त्यसपछि तु खबरलाई आज घिमिरेलाई पक्राउ नगरिएको जानकारी दिए । त्यसअघि करीव २ घण्टासम्म एसपी सिंहले खोजी कार्य जारी रहेको बताइरहेका थिए ।

बजारबाट टाँढा छ, भोलि बिहानसम्म ल्याउछौँ – उनले तु खबरलाई भनिरहेका थिए । पहिले नै गढी गाउँपालिका अध्यक्ष हुमागाईंसँग आरोपी नसमाउने सम्झौता गरेका एसपी सिंहले पीडित पुडासैनीलाई भने घिमिरे पक्राउ गरिने आश्वासन दिइरहे ।

प्रदेश ३ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआइजी) शेरबहादुर बस्नेतले धम्की दिनेलाई पक्राउ नगरी जोगाउने प्रहरीलाई कारवाही हुने बताएका छन् । तु खबरसँगको कुराकानीमा डीआइजी बस्नेतले यस्ता प्रहरीमाथि कारवाही हुने बताएका हुन् ।

पत्रकार पुडासैनी धम्क्याउनेलाई कारवाही माग

मकवानपुर, १ साउन । नेपाल पत्रकार महासंघ मकवानपुरले तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । धम्की दिने घिमिरेलाई कानूनी कारवाही गर्न समेत माग गरेको छ । यसअघि नेपाल प्रेस युनियन मकवानपुरले पनि घटनाको निन्दा गर्दै घिमिरेमाथि कानूनी कारवाहीको माग गरेको थियो । तु खबरका सम्पादक गिरिजा अधिकारीले पनि दोषीमाथि कारवाहीको माग गरेका छन् । उनले प्रहरीले गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको दबाबमा दोषीलाई पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*