मकवानपुरगढीमा असारे विकास – महिना दिन नवित्दै भत्कियो स्ल्याब

२०७६ असार ३१,मंगलवार १५:२०

मकवानपुर ३१ असार । मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मा पर्ने एक सडकमा गरिएको स्ल्याब महिना दिन नबित्दै भत्किएको छ । स्ल्याब ढलान निर्माणको लागि बनाइएको उपभोक्ता समितिले लापरवाही गरेपछि महिना दिनमै स्ल्याब भत्किएको हो । सो स्ल्याब भएर गुड्ने सवारीसाधन पनि जोखिममा पर्ने देखिएको छ ।

मकवानपुरगढीको भानु उच्च माविदेखि फुटसल परिसरसम्म १ सय १० मिटर सडक क्षेत्रमा गरिएको स्ल्याब ढलान चर्किएको छ । स्ल्याब भन्दा तल बिछ्याइको माटो ३ फिटजति गहिरो गरी भासिएको छ । स्ल्याब निर्माणको काम गर्दा जमीन बलियो नबनाई हावादारी तरिकाले स्ल्याब ढलान गर्दा यस्तो स्थिति आएको स्थानीयले जानकारी दिएका छन् । लापरवाहीकै कारण प्रदेश सरकारको लगानी वालुवामा पानी हुने देखिएको छ ।

तर उपभोक्ता समितिले सडकमा स्ल्याब ढलान गरेबापतको रकम भने पाइसकेको छ । स्ल्याब ढलानको काम गुणस्तरहीन देखिएपनि समितिले ४३ लाख भन्दाबढी रकम पाइसकेको छ
स्लाब जेनतेन अडिएको छ । स्लाब गरिएको सडकको सतहको जमिन करिब ३ फिट तल भासिएको छ । सवारी साधन उक्त सडकमा चलाउँदा स्लाब भत्केर सवारी दुर्घटना हुने अवस्था देखिएको स्थानीयहरुले तु खबरलाई बताएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेलाई यस विषयमा तु खबरले जिज्ञासा राख्दा उनले आफूपनि पत्रकारिता पढेको विद्यार्थी भएकोले सपोर्ट हुने गरी सामाचार मिलाएर लेखीदिन आग्रह गरेका छन् ।

‘मेरो काम बनाउने हो, भत्केको जिम्मा म लिन सक्दिनँ’ : अध्यक्ष घिमिरे

यसबारे तु खबरले उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेलाई जिज्ञासा राख्दा उनले आफुलाई कुनै मतलब नभएको बताए । उनले भने ‘बर्षामा सडक भासिनु स्वाविक हो । मेरो काम बनाउने हो, मैँले बनाए अब भत्केको जिम्मा म लिन सक्दिनँ, यो मर्मतको काम गाउँपालिकाको हो ।’

उनले सडक संरक्षण गरेर राख्ने जिम्मा गाउँपालिकाको हुने भन्दै उनी पन्छिए ।

सडक भत्कन सक्छ गाडि चल्न दिन्नौँ : गाउँपालिका अध्यक्ष हुँमागाई

मकवानपुरगढी गाउँपाण्लिकाका अध्यक्ष विदुर हुमागाईले स्ल्याब ढलान गरिएको सडक भत्कने खतरा भएकोले सवारी साधन चल्न नदिने बताएका छन् । उनले भने – जहाँ स्ल्याब ढलान भयो सो सडक भत्कने खतरा छ, सवारी साधन चल्दा भत्केर दुर्घटना हुनसक्छ, त्यसकारण केही दिन सवारी चलाउन नदिने तयारी गरेका छौँ ।

उनले काम गर्दा सामान्य त्रुटि भएको हुनसक्ने भन्दै आफुले त्यसबारे चासो लिएको बताए ।

असारको विकास : गैरजिम्मेवार निकाय

हेटौँडाबाट कालिखोला, मक्रान्चुली लगायतका स्थानमा जाने सडक निकै जीर्ण अवस्थामा छ । सडककै कारण यात्रुहरु जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य छन् । सडकमा सवारी चढ्दा स्थानीयले रामनाम जप्ने गरेका छन् ।

गाउँपालिकाले सडकको केही स्थानमा स्लाब ढलान गरेको छ । तर उपभोक्ता समितिको लापरवाही र आर्थिक बर्षमा बजेट सक्नकै लागि गरिएको विकास निर्माणको अवस्था हरीविजोक छ ।

अधिकांश स्थानमा पहिरो गएको छ , कतै सडक भासिएको छ । बर्षामा आउने भेल कटानको राम्रो व्यवस्था नगर्दा भेलले सडकलाई बगर जस्तै बनाइदिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*