विप्लव समूहका चार कार्यकर्ता पक्राउ

२०७६ असार ३१,मंगलवार ०९:२८

मकवानपुर ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक रहेका छन् ।

जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई स्याङ्जा पठाइनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*