बीपी प्रतिष्ठानमा भ्रष्टाचार : पूर्व उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा

२०७६ असार ३१,मंगलवार ०८:२८

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ ।

दाससहित आठ जनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो। उनीहरूले बदनियतपूर्वक आफूलाई फाइदा र प्रतिष्ठानलाई हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। उनका अनुसार दासविरुद्ध ४ करोड ८ लाख ९८ हजार बिगो कायम गरिएको छ ।

तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाविरुद्ध १ करोड ९६ लाख, रजिस्ट्रार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार बिगो मागदाबी गरिएको छ । उनीहरूविरुद्ध ६ वर्षसम्म कैद र बिगो जफतको मागदाबी अख्तियारले गरेको छ।

लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार, नायब प्रबन्धक अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीहरूविरुद्ध तीन वर्षसम्म कैद र बिगो जफतको माग अख्तियारले गरेको छ ।

उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोप्राइटर चेतन अग्रवाल १ करोड ४ लाख, उपकरण सप्लायर्स सर्विकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालले ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना गरी बिगो जफतको माग गरिएको छ।

विभिन्न मितिमा भएका वस्तु तथा सेवा खरिद सम्बन्धमा गरिएको छानबिनबाट भ्रष्टाचार पुष्टि भएको अख्तियार प्रवक्ता कोइरालाले बताए। अख्तियारले हालै प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*