अपडेट : बाढीपहिरोका कारण मकवानपुरमा ६ जनाले ज्यान गुमाए

२०७६ असार ३०,सोमबार १६:०२

मकवानपुर ३० असार । बिहिबारदेखि आएको निरन्तर वर्षाको कारण बाढीपहिरोमा परि मकवानपुरमा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ४ महिला र २ पुरुष रहेका छन् ।

बाढीपहिरोका कारण मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुस्थित गएराति पानीसँगै आएको पहिरोले घर पुरिदाँ स्थानी कान्छिमाया बलामी र उनकी छोरी १८ वर्षीया बविता बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै पहिरोले पुरिएर सोही गाउँपालिका वडा नम्बर २ की १४ वर्षीया श्रृष्टि डिम्डुङको शुक्रबार मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

त्यसैगरी वर्षाका कारण मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा महाभिर खोलाले बगाउँदा १४ वर्षीया बालिका सन्चना बलामी र वर्षाकै कारण बाटो चिप्लिएर सोही नगरपालिका वडा–७, आग्राको बाल्चा भिरबाट लड्दा रौतहट जिल्ला जितपुर नगरपालिका वडा नम्बर ६ बस्ने २७ बर्षिय उमेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै पहिरोका कारण मकवानपुर जिल्लाकै कैलाश गाउँपालिका वडा नम्बर १० नामटारस्थित डर खोलाले बगाउँदा सोही वडा बस्ने ५५ वर्षीय सानुकान्छा सुनारको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार, मकवानपुरमा बाढीपहिरोका कारण ५ जना घाईते भएका छन् । घाईतेमध्ये २ महिला र ३ पुरुष रहेका छन् । साथै प्रहरीले एक जनाको उद्दार पनि गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*