अविरल बर्षाको कारण हालसम्म ८ जनाको मृत्यु

२०७६ असार २७,शुक्रबार १६:१९

मकवानपुर २७ असार । अविरल बर्षाको कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरमा पनि बर्षाको कारण १ जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा खोलाले बगाउँदा १२ बर्षकी बालिका सन्चना बलामीको आज मृत्यु भएको हो । त्यसैगरी हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर र पर्सामा गरी ७ जनाले जनाले ज्यान गुमाएका छन् ।

मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित बागझोरामा बाढी आएको छ । अविरल बर्षाको कारण पानीको त्रिभुवन राजपथसमेत अवरुद्ध भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*