खै शिक्षक ?

२०७६ असार २२,आईतवार १९:२२

मकवानपुर २२ असार । मकवानपुरको राष्ट्रिय रोटरी मावि, मनहरीको प्राथमिक ब्लक । दिउँसो १ बजे, खाजाको समय । भर्खरै पानी रोकिएको छ । चौरमा जताततै पानीका आहाल जमेका छन् । तिनै आहालमा ससाना स्कुले नानीहरू कोही पौडिरहेका छन्, कोही हिलो पानी छ्यापाछ्याप गरिरहेका छन् । केही केटाकेटी बेञ्चलाई उल्टो पारेर पानीमा जहाज दौडाइरहेका छन् ।
केटाकेटीलाई रोक्ने कोही शिक्षक, कर्मचारी छैनन् । निर्वाध र निर्भय झन्डै एक घन्टा पानीको मजा लिएपछि भिजेकै कपडामा बाँकी कक्षा पढ्न जान्छन् बालबालिका ।

यो कुनै दुरदराजको विद्यालय होइन । मनहरी बजारसँगै छ विद्यालय । प्राथमिक ब्लकका इन्चार्ज सिताराम सुवेदीसहित सातमध्ये तीन शिक्षक अनुपस्थित छन् । सुवेदी यसै वर्ष उमेरहदका कारण अवकाश पाउँदै हुनुहुन्छ । बाँकी शिक्षकहरू पनि खाजा खान गएको बेला खेले होलान् । यसै भन्नुहुन्छ शिक्षिका गङ्गा तिमल्सिना ।

यो त्यही विद्यालय हो जहाँ गत जेठ महिनामा एक सातामै चार बालबालिकाको हात भाँचिएको थियो ।

विद्यालयको माध्यमिक ब्लक केही टाढा मनहरी बजारमै छ । प्रधानाध्यापक गोविन्द पौडेल आफैं सधैं पुगेर प्राथमिक ब्लक अनुगमन गर्न नसकिने बताउँछन् ।
जोखिममा कहिलेसम्म रहन्छन् बालबालिका ?

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*