वडा अध्यक्ष तितुङले मनहरीको ९ वटै वडामा नि : शुल्क स्वास्थ्य वीमा गरिदिने

२०७६ असार २०,शुक्रबार १२:३६

मकवानपुर २० असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर७ का वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाको ९ वटै वडाका विपन्न एवम् गरिबहरुको नि : शुल्क स्वास्थ्य वीमा गरिदिने भएका छन् ।

वडा अध्यक्षको रुपमा आउने तलव सेवा सुविधा सामाजिक कार्यमा लगाउने योजना अनुरुप प्रत्येक वडाको २०-२० जनाको नि : शुल्क स्वास्थ्य वीमा गर्ने भएका हुन् ।

सरकारले ल्याएको स्वास्थ्य वीमा योजना अझै ग्रामीण दुरदराजसम्म पुग्न नसकेको भन्दै उनले यस अभियानलाई सघाउन खोजिएको बताए ।

‘राजनीतिलाई समाजसेवाको रुपमा बुझेको छु, सोही अनुरुप कार्यान्वयन गर्ने अभियानमा रहेको छु’, वडा अध्यक्ष तितुङले भने, ‘मनहरी गाउँपालिकाको प्रत्यक वडाका विपन्न एवम् गरिब समुदायका २०-२० जनाको स्वास्थ्य वीमा मेरो व्यक्तिगत खर्चमा गर्नेछु ।’

उनले आफ्नो अभियानलाई बिहीबारबाट मनहरी गाउँपालिकाको २ नम्बर वडाबाट सुरु गरेका छन् । ‘साविकको हाँडीखोला गाविस, अहिलेको मनहरी गाउँपालिका २ बाट यो अभियान सुरु भएको छ । कम्तिमा मनहरी गाउँपालिकाका १८० जनाको स्वास्थ्य वीमाको रकम म व्यहोर्नेछु ।’ स्वास्थ्य वीमा महत्व सबैले बुझ्नु आवश्यक रहेको औंल्याउँदै उनले सहयोग आवश्यक परिवारको विषयमा आफूलाई जानकारी गराउन अनुरोध गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

७ नम्बर वडा अध्यक्ष तितुङले बिहीबार २ नम्बर वडाको ४ घर परिवारको वीमा गरिदिएको कांग्रेस नेता प्रेम गोङ्बाले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*