एक महिनाभित्र विद्युत उत्पादन गर्ने कुलेखानी जलविद्युत तेस्रोको लक्ष्य

२०७६ असार १७,मंगलवार १२:५५

मकवानपुर, १७ असार । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ स्थित सानुटारमा निर्माणधिन कुलेखानी जलविद्युत तेस्रोकोे करिब एक महिनाभित्र १४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।

उक्त विद्युत उत्पादनको लागि भैसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको करिब ४ किलोमिटर सुरुङ मार्गबाट ल्याएको पानी प्रयोग गरि विद्युत गृहमा विद्युतको उत्पादन परीक्षण गरिसकेको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको रु ४ अर्ब ५० करोड रकम लगानीमा सो आयोजनाको निर्माण गरिएको थियो ।

चिनियाँ प्राविधिक टोलीले यही असार महिना भित्र कुलेखानी आईपुगी कुलेखानी तेस्रोको निर्माणधिन विद्युत गृहको बाँकी कामको अनुगमन गरि थप उपकरणहरु साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युतको उत्पादन गरि काठमाडौंस्थित केन्द्रिय ग्रीडमा जोड्ने व्यापक तयारी भइरहेको कुलेखानी तेस्रो आयोजनाको प्रमुख सुभाष बाबु मिश्रले जानकारी दिए ।

अहिले कुलेखानी प्रथमबाट ६० मेगावाट र कुलेखानी दोस्रोबाट ३२ मेगावाट गरि अहिले ९२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*