कविता–आमा तिमी…

२०७६ असार ८,आईतवार १२:१५

रामहरी शर्मा चौलागाई/मकवानपुर, ८ असार ।

आमा तिमी सिङ्गै बगैंचा थियौ
जहाँ विभिन्न फूलहरु फूल्ने
सुखद अवसरहरुको परिभाषा थियौ
ओत लाग्ने सिङ्गै आकाश थियौ
उज्यालो दिने प्रकाश थियौ
तिमी हुनुको अर्थ
सुन्दर शृङ्गार थियो
तिम्रा सन्ततिका निम्ती
घाम–स्पर्श झैँ, प्रकाश फिजाउँथ्यौ
पानी झैँ शीतल–स्पर्श बाँड्न खोज्थ्यौ
धर्ति झैँ सहनशीलताकै रुप भै
झुल्न खोज्थ्यौ ।

निस्स्वार्थ सेवाका उत्सर्गहरु
सधैँ सधैँ सिकाई रहन्थ्यौ
तिमी जति छटपटीमा भएनी
आफ्ना बक्षस्थलबाट अमृतधारा चुसाउथ्यौ
कहिले पटुकी फुकाएर अन्नदाना खुवाउँथ्यौ
भकारीको भन्दा बढी भर तिम्रो पोल्टाको लाग्थ्यो
भोकको आगो लाग्नबाट बचाउँथ्यौ
आफ्नो भाग खटाएर नि खुवाउथ्यौ, पिलाउथ्यौ
दुःखहरु आफैँ भोगी सुखहरु मात्र बाँड्थ्यौ
हाम्रा दुःखहरुमा छटपटीदै मलम लगाउथ्यौ
हाम्रा खुसिहरुका लागि कति घोटीन्थ्यौ
हरेक चाड पर्वहरुमा
आशिरवचनका टिकाहरु लगाइदिन्थ्यौ
सागर भन्दा गहिरो मायाको मुहान थियौ

तर, आज चटक्क छोडी कहाँ बिलाई गयौ आमा
आज तिमी बिना
पन्छी बिनाको रित्तो पिंजडा झैँ
हाँगाबाट झरेको फूलझैँ
चुक पोखिएको अन्धकार रात झैँ भाको छ
चारैतिर शुन्य शुन्य लाग्ने
उजेलिमा नि अँधेरी झैँ लाग्ने
रंगहरु उडेर फुङ्ग भाको छ ।
कता कता अपत्त्यारीलो सपना लाग्ने
बोलिरहने तिम्रो आवाज
टोलाईरहने तिम्रो आँखा
कसरि बन्द भो ?
तिम्रो एकाएक शुन्य चेतनाले
जताततै रित्तै रित्तो झैँ भाको छ
आज तिम्रो शरीर त छैन
तिम्रा तस्विरहरु हामीसंगै सुरक्षित छन् आमा
तिम्रा माया ममता
अनि सम्झनाहरु छातीभरि छन्
हामी भित्रका इतिहास भूगोलका पानाहरुमा
यति हो घाउहरु बल्झिए झैँ दुखि रहन्छ
तिम्रो अनुपस्थिति तर, हाम्रा हृदयमा
सम्झना बनि सदा सदा
रहिरहनेछौ, रहिरहनेछौ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*