जीर्ण बन्दै भीमफेदीको जलेश्वर महादेव गुफा, संरक्षणमा चासो दिन स्थानीयको आग्रह

२०७६ असार ३,मंगलवार ०९:१०

मकवानपुर ३ असार । मकवानपुर जिल्लाको पुरानो सदरमुकाम हो भीमफेदी । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसमेत बाकेको छ भीमफेदीले । भीमफेदीको चिसो वातावरण, स्वच्छ हावा, हरिया डाँडापाखा र विभिन्न ऐतिहासिक र धार्मिक महत्व बोकेका धरोहरहरुको अवलोकन गर्न पाउँदा जो कसैको मन लोभिने गर्छ ।

भीमफेदी बजारबाट करिब ४० मिनेटको दुरी पार गरेपछि माथिल्लो सुपिङ् पुगिन्छ ।त्यहाँ ‘जलेश्वर महादेव’ नामक गुफा छ । गुफाको छुट्टै विषेशता रहेको छ । गुफामा पुजापाठ गर्दा समयमा पानी पर्ने अनि सबैको कल्याण हुने विश्वास रहिआएको छ । उक्त गुफाभित्र विभिन्न देवीदेवताको प्राकृतिक मुर्तीहरु स्पष्ट देखिन्छ । शिवलिङ्ग, नागको मुर्तीहरु र विभिन्न देवताको मुर्तीहरु त्यहाँ सयौँ बर्ष अधिदेखि भएकोले दैविक शक्ति भएको स्थानीयहरु दाबी गर्छन् ।

भीमफेदी गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त गुफाको संरक्षण गर्न सके भीमफेदी गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।
चैत्र पूर्णिमाको त्रिशुलीको देवी घाटमा मेला लाग्ने दिन नै उक्त गुफाको नामाकरण गरिएको विश्वास गरिन्छ । धामी झाक्रीहरुले धेरै मिहेनत गरेर उक्त गुफाको नाम ‘जलेश्वर महादेव’ गुफा नामाकरण गरेको स्थानीय राजकुमार लामाले बताए ।

त्यसो त गुफाभित्र टल्कने धातु जस्तो प्राकृतिक बस्तु पनि स्पष्ट देखिन्छ । बाघको छाला आकारको प्राकृतिक ढुङ्गाहरु स्पष्ट देखिन्छ । गुफामा स्थानीयहरुले जलेश्वर महादेव रहेको भन्दै पुजा आजा गर्ने गरेको स्थानीय अर्जुन पुडासैनी बताउँछन् ।

भीमफेदी गाउँपालिकाले पर्यटन विकासको लागि थुप्रै योजना अघि सारेको छ । जलेश्वर गुफाको संरक्षण र विकासमा पनि गाउँपालिकाले चासो दिए पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीयहरुको दावी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*