जनप्रतिनिधिहरुले गाँउमा बाटोघाटो बनाउने योजनामात्रै विकास होइन भन्ने सोच्नुपर्छ : मुख्यमन्त्री पौडेल

२०७६ जेष्ठ २९,बुधबार १४:२८

मकवानपुर २९ जेठ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सामाजिक, आर्थिक रुपान्तरणको लागि स्थानीय तहको जनप्रतिनिधिहरुले आफ्नो व्यवहार र शैलीमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।

बुधबार हेटौँडामा मुख्यमन्त्री तथा मन्त्री परिसद् कार्यालय ३ नम्बर प्रदेशद्वारा आयोजित प्रदेश समन्वय परिसद्को दोस्रो बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले स्थानीय तहका केही जनप्रतिनिधिहरुले आफु नै सर्वेसर्वा हुँ भनी दम्भ देखाउँदै प्रदेश सरकारले पठाएका योजना र बजेटलाई कार्यान्वयन नगर्ने क्रियाकलाप सहज नभएकोमा चिन्ता प्रकट गरे ।

उनले स्थानीय तहका गाउँपालिका, नगरपालिका एवं महानगरपालिकाका प्रमुख, उपप्रमुखहरुले प्रदेश सरकारसंग समन्वय सहकार्य गरेर स्थानीय जनताको लागि दीगो व्यवस्थापन गरेर योजना बजेटलाई समयभित्र निर्माण सम्पन्न गर्नेतर्फ केन्द्रबिन्दुमा रहन आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले भने ‘‘ जनप्रतिनिधिहरुले गाँउमा केवल बाटोघाटो बनाउने योजनामात्रै विकास होइन भन्ने सोच बनाइनु पर्दछ ।’’

मुख्यमन्त्री पौडेलले नीति योजना आयोगद्वारा प्रकाशित प्रदेशको स्थानीय तहको आवधिक योजनाको पुस्तिकाको पनि आजै विमोचन गरे ।

मुख्यमन्त्री पौडेलले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले जनतालाई अब स्वरोजगार बनाउने योजना एवं वातावरणको सुधार जैविक विविधतालाई संरक्षण गर्ने र विज्ञान प्रविधिलाई नयाँ सोचका अनुसार सूचना प्रणालीलाई आधुनिक प्रविधिबाट संचालन गरी गाउँपालिका, नगरपालिकालाई मोडेल शहरको रुपमा विकास गर्ने सोच चिन्तनको लागि हाम्रो एक मात्र उदश्य हुनुपर्ने निर्देशन दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*