सेफ्टी ट्यांकीकाे ढक्कन भासिँदा ४ बालबालिकाको मृत्यु

२०७६ जेष्ठ २९,बुधबार ०७:३९

दार्चुलाको नौगाढ गाउँपालिका ४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भाँसिदा ४ बालबालिकाको मृत्यु भएको छ । दिउँसो करिब साढे ४ बजेतिर सेफ्टी ट्यांकीको ढक्कनमाथि खेल्दै गरेका सोही गाउँपालिकाको १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो ।

सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाएको थियो । सोही मैदानमा खेल्दै गरेका ती बालबालिकाको ढक्कन भाँसिदा सेफ्टी ट्यांकीमा परी मृत्यु भएको स्थानीय प्रतापसिंह ठगुन्नाले बताए ।

बालबालिकाको उद्धार गर्न तीन घण्टा

ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेको थियो । ट्याङ्कीमा खसेर मृत्यु भएको बालबालिकाको उद्धार गर्न तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए । ‘माटोसहित बालबालिका ट्याङ्कीमा परेको र वर्षा भएकाले बेलुका मात्रै ट्याङ्कीबाट लाश निकालेर सनाखत गर्न सकियो,’ प्रहरीले जानकारी दिएको हो ।

घटनाको खबर सुन्ने बित्तिकै गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुरजबहादुर खड्काको टोली घटना स्थल पुगेको थियो । यसैगरी वडा अध्यक्ष नन्दनसिह धामी स्थानीय र प्रहरीसँगै उद्धारमा खटिएका थिए ।

शोकाकूल सिप्टी

दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्याङ्कीमा परे भन्ने छुट्याउन सकेनन् । स्थानीयहरु आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्नतिर लागे ।

विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीय छोरी अनुस्का र उनका ४ जना साथीहरु खेलिरहेको स्थानीयले बताएका थिए । अनुस्कासहित सबै बालबालिको लाश पहिचान भएपछि गाउँ नै शोकमा डुबेको छ । ‘विद्यालय जान लागेका बालबालिका खेल्दाखेल्दै विद्यालय परिसरमै मृत्यु भयो, बच्चाहरूको मृत्यु सपना जस्तै भएको छ,’ स्थानीय जयमति धामीले भनिन् ।
आजको नयाँ पत्रिकामा समाचार छ


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*