मकवानपुर बहुमुखी क्याम्पसमा रमिता : ‘अयोग्य प्राध्यापक’को रगरगी, क्याम्पस प्रमुखको दोहोरो नीति

२०७६ जेष्ठ २७,सोमबार १८:०८

मकवानपुर २७ जेठ । मकवानपुर बहुमुखी क्याम्पसमा अयोग्य प्राध्यापकहरुले अध्यापन गराइरहँदासमेत क्याम्पस प्रशासन मौन देखिएको छ । बर्षौँदेखि अयोग्य प्राध्यापकहरु हटाउन विद्यार्थी संगठनले पटक पटक दबाब दिएपनि प्रशासन आवश्यक छानविनको सट्टा उल्टो जोगाउने पक्षमा रहेको खुलासा भएको छ ।

क्याम्पसका विद्यार्थीले पटक–पटक अयोग्य प्राध्यापकलाई छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने माग राखेपनि क्याम्पस प्रशासन जोगाउने पक्षमा रहेको विद्यार्थीको आरोप छ ।

गत जेठ ५ गते क्याम्पसको नेकपा निकट विद्यार्थी संगठनले अयोग्य प्राध्यापकलाई बर्खास्त गर्नुपर्ने मागसहित क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्रशासनले जेठ ८ गते विद्यार्थी संगठनकै प्रतिनिधि समेतको सहभागितामा छानविन समिति गठन गरेको थियो । त्यसपछि मात्र क्याम्पसमा लगाइएको ताला खुलेको थियो ।

क्याम्पस प्रशासनले क्याम्पसका सेवा समितिका अध्यक्ष एवं नेकपा मकवानपुरका नेता प्रल्हाद लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

सहमति अनुसार छानविन समितिले १५ दिनभित्र आवश्यक छानविन गरी क्याम्पस प्रशासनलाई प्रतिवेदन बुझाउनेपर्ने भएपनि हालसम्म सो समितिले कुनै छानविनको प्रक्रिया समेत अघि बढाएको छैन ।

समितिका सदस्यहरुका अनुसार क्याम्पस प्रशासनले समितिलाई आधिकारीक जानकारीसमेत दिएको छैन ।

समितिले बुझाएको प्रतिवेदन अनुसार प्रशासन अघि बढ्ने र अयोग्य शिक्षकहरुलाई तुरुन्त बर्खास्त गर्ने सहमति भएपनि आज २१ दिनसम्म समिति र प्रशासन दुबै मौन देखिन्छन् । यसबाट अयोग्य शिक्षक जोगाउन क्याम्पस प्रशासन लागिपरेको पुष्टी भएको छ ।

के भन्छन् छानविन समिति संयोजक लामिछाने ?

छानविन समितिका संयोजक एवं नेकपा मकवानपुरका नेता प्रल्हाद लामिछानेले औपचारिक रुपमा प्रशासनले छानविन गर्न समितिलाई निर्देशन नदिएको बताए । उनले आफु छानविन समिति गठन गरिएकोबारे समेत प्रशासनबाट बेखबर रहेको बताए ।

उनले भने ‘ थाहा नभएको होइन, तर आधिकारी जानकारी मलाई छैन, त्यसकारण मैले छानविन अघि नबढाएको हो ।’ उनले भने ‘  १५ दिनभित्रमा अयोग्य शिक्षकहरुको आवश्यक छानविन गरेर प्रतिवेदन प्रशासनलाई बुझाउनुपर्ने निर्णय भएको रहेछ । तर मलाई औपचारिक रुपमा प्रशासनले केही जानकारी दिएको छैन । ’ उनले क्याम्पस प्रशासनले आधिकारीक रुपमा जिम्मेवारी दिएमा समितिले छानविन गर्ने बताए ।

 

क्याम्पस प्रमुखको दोहोरो भुमिका

मकवानपुर क्याम्पसका प्रमुख बच्चुराम अधिकारी दोहोरो भुमिकामा देखिएका छन् । छानविन समिति गठन गरेर विद्यार्थीको आँखामा छारो हालेका अधिकारीले आफुले समितिलाई आधिकारीक जानकारी नदिएको स्वीकार गरे ।

उनले भने ‘ हामीले २ जना अयोग्य प्राध्यापक करारमा नियुक्त गरेका थियौँ । त्यो बेला योग्य मान्छे थिएनन् । त्यसकारण उहाँहरुलाई नियुक्त गरिएको हो, तर अब गुनासो आएको कारण उहाँहरुको करार निश्चित रुपमा थपिँदैन । त्यसकारण छानविन गर्नु आवश्यक छैन ।’ उहाँहरुलाई असारपछि बिदा गरिन्छ, उनले भने ।

विद्यार्थीहरुले क्याम्पसमा ताला लगाएपछि अध्ययन अध्यापनमा समस्या भएकोले आफुले समिति गठन गरेर विद्यार्थीलाई थम्थमाएको उनको भनाई छ ।

उनले अयोग्य २ जना शिक्षकको बारेमा जानकारी भएको भन्दै असार मसान्तपछि करार नथप्ने दाबी गरेका छन् ।

क्याम्पस प्रशासनले टेरेन, फेरी ताला लगाउछौँ : विद्यार्थी नेता शिवाकोटी

नेकपा निकट विद्यार्थी संगठनका नेता रामकृष्ण शिवाकोटीले क्याम्पस प्रशासनले विद्यार्थीको आँखामा छारो हालेर राजनीतिक दवाबमा अयोग्य प्राध्यापक जोगाउन लागिपरेको बुझिएको भन्दै क्याम्पस प्रशासनमा फेरी ताला लगाउने चेतावनी दिएका छन् ।

तु खबरसंग कुराकानी गर्दै उनले भने ‘हामीलाई झुक्याएर प्रशासनले अयोग्य प्राध्यापक जोगाउने तरखर गरेको छ, हामीलाई त्यो स्वीकार्य छैन ।

हामी हाम्रो आन्दोलनको कार्यक्रम अन्तरगत भोली क्याम्पस प्रशासनमा ताला लगाउछौँ ।’ उनले  दाबी गरे ।

यो पनि पढ्नुहोस्

अयोग्य प्राध्यापकलाई बर्खास्त गर्नुपर्ने मागसहित मकवानपुर क्याम्पसमा ताला

खुल्यो मकवानपुर क्याम्पसको ताला, अयोग्य प्राध्यापकको पहिचान गर्न कार्यदल गठन

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*