अस्ताए गाडी बोक्ने मकवानपुरका जिउँदो इतिहास वाईबा

२०७६ जेष्ठ ११,शनिबार १७:१८

त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो ।

धामीझाँक्री भए पनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइबा’ भन्ने गर्थे । वाइबा नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिबेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवितपात्र थिए । वाइबाले भीमफेदीबाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । नाइकेले उनलाई अग्लो र बलियो देखेर गाउँबाट छानेर लगेका थिए । ६ फिट अग्ला वाइबाले सानाठूला गरेर सयभन्दा बढी गाडी बोकेर काठमाडौं पुर्याएका थिए ।

वाइबा गाडी बोक्न छाडेपछि गाउँमा धामीझाँक्री गरेर बसेका थिए । घरमा आएका बिरामीलाई झारफुक गर्ने र हिँड्न नसक्ने बिरामीलाई उनीहरूका घरमै गएर सेवा दिदै दिनहरु विताइरहेको थियो ।

पहिलो पटक भीमफेदीबाट सानो गाडी नोल लगाएर ८र८ जना गरी ३२ जनाले ७ दिनमा थानकोट पुर्याएको उनलाई सम्झना थियो । भेटको सुरुमै उनी त्यही कुरा सबैलाई सुनाउँथे । त्यतिबेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमध्ये तीन रुपैयाँ बाटामा खाना र खाजामा खर्च गरे र दुई रुपैयाँ घरमा बुझाएका थिए । दुई रुपैयाँ घरमा बुझाउँदा सबै खुसी भएको घटना उनले तीन वर्षअघि सञ्चारकर्मीलाई हाँसी हाँसी सुनाएका थिए ।

प्लास्टिकको चप्पल गाउँदा लडे
गाडी बोक्दा परालको चप्पल लगाउने बानी परेका वाइबालाई अरू खालका चप्पल र जुत्ता लगाउँदा असजिलो हुने गरेकाले उनी गाउँमा जुत्ताचप्पल लगाउँदैनथे ।

नातिले बजारबाट किनेर ल्याएको प्लास्टिकको चप्पल लगाउँदा वाइबा आँगनमै लडेका थिए । त्यसपछि उनले प्लास्टिकको चप्पल लगाएनन् । परालको चप्पल बुनेर लगाउनलाई नातिहरूले दिएनन् । त्यसैले उनी नाङ्गै खुट्टा हिँडे । गाडी बोक्दा चिप्लिनेडरले सबै भरिया परालको चप्पल लगाउने गर्थे ।

भीमफेदीबाट काठमाडौंसम्म एउटा गाडी बोकेर लैजाँदा चार जोर परालका चप्पल फाट्ने गथ्र्यो । गाडी बोकेर कमाउन थालेपछि उनको विवाह गाउँमा भएको थियो । २०७३ भदौमा सञ्चारकर्मीसँग हाँस्दै भनेका थिए, ‘गाडी बोक्न थालेपछि विवाह गर्न समस्या नै भएन, त्यतिबेला २,४ वटीसँग विवाह गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिनँ ।’

वाइबाकी पत्नी ६ वर्षअघि नै बितेकी थिइन् । उनी नातिसँग बस्दै आएका थिए । साना गाडीमा लामा–लामा नोल बाँधेर चार कुनामा ८र८, १६र१६ र २४र२४ तन्नेरीहरू काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया र नाइकेहरूले ८र८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६र१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४र२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे ।

भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं गाडी बोकेर पुर्याउँदा ७ देखि १२ दिनसम्म लाग्ने गथ्र्यो । त्यसबापत एक जनाले ५ रुपैयाँ पाउँथे । २०१२ सम्म वाइबाले गाडी बोकेका थिए । विसं २०१३ मा त्रिभुवन राजपथ निर्माण भएपछि गाडी बोकेर राजधानी लैजाने परम्परा छुट्यो ।

गाडी बोक्नेमध्ये अब घलान मात्रै जिवित
जुक्तबहादुरको निधनपछि गाडी बोकेर काठमाडौं पुर्याउनेमध्ये पहिचान भएका अब एक पात्र मात्र जीवित छन् । वाइबाकै घरबाट आधा घण्टा उकालो हिँडेपछि पुगिने थाहा नपा–५ पुरन्डीका ८९ वर्षीय हिराबहादुर घलान अब एक मात्र जिउँदो इतिहास छन् । उमेरमा गाडी बोकेर लैजाने घलानलाई अहिले आँगन नै परदेश बनेको छ । लौराका सहारामा बल्लतल्ल घर भित्र–बाहिर गर्छन् ।

‘गाडी बोक्ने जीवित पात्र घलान मात्र एक हुन सक्छन्, अरूको निधन भइसक्यो । गाडी बोक्नेहरू अधिकांश यसै भेगका थिए । विगतमा गाडी बोकेर राजधानी प्रवेश गराउने भरियाहरूको थातथलो मार्खु, कुलेखानी र चित्लाङ, फाखेल र वज्रबाराही थियो । गाडी बोक्ने फाखेलका ९२ वर्षीय हिराबहादुर बलामी र चित्लाङका ९४ वर्षीय धनबहादुर गोलेको ५ वर्षअघि नै मृत्यु भइसकेको छ ।
डाँडापारी सन्देशबाट साभार गरिएको ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*