विप्लव नेतृत्वको नेकपाको आह्वान : जेठ १३ गते नेपाल बन्द

२०७६ जेष्ठ ९,बिहीबार १९:२२

मकवानपुर ९ जेठ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्द आह्वान गरेको छ । पार्टीले संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तीमा जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरिएका छन् । सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका तीर्थराजलाई प्रहरीले गिरफ्तार गरेर हत्या गरेको भन्दै विप्लवले आपत्ति जनाएका छन् ।

आफ्नो पार्टीका नेता कार्यकर्ताको हत्या र दमन अभियान चलाएर जनतामा पैदा भएको आक्रोसलाई न्यूनिकरण गर्दै अक्षमता लुकाउन सामान्य राजनीतिक कार्यक्रममा हिडेका तिर्थराजको हत्या गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । नियन्‍त्रणमा लिएर हत्या गरेर भिडन्तको नाटक गरेको विज्ञप्तिमा उल्लेख छ ।

”केपी ओलीको सामाजिक फासीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ ।

हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले हत्याको साहारा लिएर कुनै मुक्ति अभियान नरोकिने बताउँदै हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*