मकवानपुरगढीको मनकामना दूग्घ सहकारीमा अनियमितता, अख्तियारमा उजुरी

२०७६ जेष्ठ ५,आईतवार १२:४९

मकवानपुर ५ जेठ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना दूग्घ उत्पादक सहकारी संस्थामा चरम अनियमितता भएको भन्दै संस्थाकै एक शेयर सदस्यले छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा उजुरी दिएका छन् ।

संस्थाका व्यवस्थापक बलराम हुमागाईकै मिलेमतोमा संस्थामा चरम अनियमितता भएको उजुरीपत्रमा उल्लेख छ ।

उजुरीपत्रमा उल्लेख भएअनुसार संस्थाका अन्य कर्मचारीलाई दिईने सेवा सुविधा समयमा नदिएको, कर्मचारीको उमेरको हद ५८ भएपनि ५८ बर्ष कटको व्यवस्थापक हुमागाँईनै सेवामा रही काम कारबाही संचालन गरिरहेको, संस्थाद्वारा संचालित पसलमा सामान किनबेच गर्दा मूल्य अँकित नभएका सामानहरु बेचिएको अनि बिल माग्दा समेत आलटाल गर्ने गरिएको, २०६७ सालदेखि संस्थाका विभिन्न हिसाबमा अनियमितता गरिएको लगाएतका विषय उल्लेख छ ।

त्यसैगरी व्यवस्थापक हुमागाईले सूचनाको हक बन्देज गर्न खोजेको, चौघडा दूघ चिस्यान केन्द्रको जेनेरेटर सम्बन्धी हिसाव सार्वजनिक नगरेको विषय पनि उजुरी पत्रमा उल्लेख छ ।

व्यवस्थापक हुमागाईकै मिलेमतोमा नयाँ व्यक्तिलाई शेयर निस्कासन नगरी पुरानै शेयर सदस्यमा गुटबन्दी गरी आफ्ना फेबरकालाई पालैपालो समिति निर्माण गरी नयाँ शेयर निस्कासनमा बन्देज लगाईएको, मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेको लगाएका गुनासो उजुरी पत्रमा उल्लेख छ ।

शेयर सदस्यले आफ्नो नाम गोप्य राखी गत २०७५ फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा उजुरी दर्ता गराएका छन् । दर्ता नम्बर २१ सय ३२ मा सो उजुरी दर्ता भएको छ ।

अख्तियार स्रोतले तु खबरसंग यस विषयमा अनुसन्धान अघि बढाउने बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*