मकवानपुरमा भेटियो अनौठो जीव जसको मूल्य १० लाखसम्म पर्छ

२०७६ जेष्ठ १,बुधबार १५:३९

मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । उक्त भेग कृषि, पशुपालन र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ ।

केन्द्रीय राजधानी काठमाडौंबाट करिब ६० किमी पश्चिम दक्षिणमा अवस्थित चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ, त्यसबारे कमैलाई मात्र थाहा होला । जिल्लाको थाहानगर–१०, मा पर्ने बिसिङ्खेलमा यस्तो जनावर पालिएको हो ।

झट्ट हेर्दा उक्त जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेंडा र घोडाको प्रजाति जस्तो देखिन्छ ।

घाँटी र टाउको ऊँटको जस्तै छ । यसको हिंडाई पनि ऊँटजस्तै छ । रौं हेर्दा भेंडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो छ । तर, उक्त जनावर ऊँट, घोडा वा भेडामध्ये कुनै होइन भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

आखिर के रहेछ त यो अचम्मको जीव रु जर्मन भाषामा यसलाई अल्पाका भनिँदो रहेछ । नेपालीमा पनि यही नामले चिनिन्छ ।

२० वर्षदेखि उक्त जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार उक्त जनावरलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जनावर पालेका थिए ।

मकवानपुरको बिसिङ्खेलमा २ वर्षदेखि अल्पाका पालिँदै आए पनि नेपालमा यो जनावर भित्रिएको भने २० वर्ष भइसकेको छ ।

अल्पाकाले एक वर्षमा एक पटकमात्र बच्चा जन्माउँछ र एक पटकमा एउटामात्र पाउँछ । यसको आयु २५ वर्षसम्म हुन्छ । चित्लाङको फर्ममा हाल २० वर्ष पुगेका अल्पाकासमेत छन् ।

बिसिङ्खेलस्थित अल्पकाज फर्ममा सेतो, खैरो र कालो रंगका गरी १५ वटा अल्पाका छन् । उनीहरुलाई दिनमा ४ देखि ५ भारीसम्म घाँस आवश्यक पर्ने जिरेल बताउँछन् ।

अल्पाकाको स्वभाव पनि अनौठो खालको हुन्छ । अल्पकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ । केही गरी सँगै राख्यो भने झगडा गरेर हैरान पार्छन् । यिनीहरु माइनस १० डिग्री सेल्सियससम्म चिसोमा पनि बाँच्न सक्छन् ।

जिरेलले अल्पाकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिशापिसाब गर्ने स्वभावसम्म कुरा सुनाए । उक्त जनावरले दिशापिसाब सधैं एउटै ठाउँमा मात्र गर्छ । यसले आफ्नो बथान छाडेर कतै भाग्दैन । देख्दा डर लाग्ने भए पनि मान्छेलाई कहिल्यै केही गर्दैन । गर्मी ठाउँमा यो बाँच्न सक्दैन ।

यसको रौं प्रतिकिलो ७० हजारदेखि एक लाख रुपियाँसम्म पर्छ । यसको रौं भेंडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ । सिंगो अल्पाकाको मूल्य ७ लाखदेखि १० लाख रुपियाँसम्म पर्छ । यसको रौंबाट बनाइएका ज्याकेट जाडोमा न्यानो हुन्छन् भने गर्मीमा चिसा । त्यसैले यस्ता ज्याकेटको मूल्य पनि सामान्य ज्याकेट भन्दा महंगा हुन्छन् ।

यति धेरै महंगो जीव आखिर किन पालिन्छ त भन्ने धेरैलाई जिज्ञासा लाग्न सक्छ । खासमा उक्त जीव दुई कारणले पाल्ने गरिन्छ । पहिलो सौखका रुपमा । र, दोस्रो रौंको व्यावसायिक उत्पादनका लागि ।

बिसिङ्खेलस्थित फर्ममा भने रौंका लागि अल्पाका पालिँदै आएको छ । अल्पाका हेर्न विभिन्न ठाउँबाट मान्छेहरु मकवानपुरको बिसिङ्खेल आउने गरेका छन् । यसले त्यहाँको पर्यटकीय आकर्षण थपेको स्थानीय रामजी बलामीले जानकारी दिए ।
हेटौँडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*