मनहरी गाउँपालिकाको रजैयामा अन्तरक्रिया कार्यक्रम

२०७६ बैशाख २८,शनिबार १६:२०

मकवानपुर २८ वैशाख । प्रदेश नीति तथा योजना आयोगले ३ नम्बर प्रदेशको सबै ६६ वटा निर्वाचन क्षेत्रमा आ.व. २०७६/०७७ का नीति तथा कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोट गर्न परिपत्र भए बमोजिम शनिबार मनहरी गाउँपालिकाको रजैयामा अन्तरक्रिया कार्यक्रम भएको छ ।

मकवानपुरको क्षेत्र २ को ख मा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य एवं काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रमबाट सर्वसम्मत रुपमा १० करोडको ३ योजना र ५० करोडको एक ठूलो योजना छनोट गरेको छ ।

१० करोडको ३ योजनाहरु, (१) मनहरी गाउँपालिका वडा नम्बर १ देखि ५ नम्बरसम्म खहरे नियन्त्रण, (२) राक्सीराङ गाउपालिकाको चैनपुर–मान्छाल–चौकीटार–खैराङ हुँदै मलेखु जोड्ने सडक निर्माण, (३) कैलाश गाउँपालिकाको गोगने–कालिकाटार–कैलाश ५ देखि ८ जोड्ने सडक निर्माण र ५० करोडको एउटा ठूलो योजना मनहरी गाउँपालिका सिम्पानी–सरिखेत–भार्ता–गोगने–थाहा नगरपालिका हुँदै चन्द्रागिरी जोड्ने सडक निर्माणको लागि प्रदेश नीति तथा योजना आयोगलाई सिफारिश गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा मकवानपुर २ को ख का प्रदेशसभा सदस्य सन्त चेपाङ र ओम घलान, पूर्व सभासद राजाराम स्याङतान, त्यस क्षेत्रमा पर्ने राक्सीराङ, कैलाश र मनहरी गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु र राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र अगुवा समाजसेवीहरुको उपस्तिथिमा रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*