मनहरीमा सवारी दुर्घटना मकवानपुरका ८ सहित १२ जना घाइते (नामावली सहित)

२०७६ बैशाख २१,शनिबार १३:४५

मकवानपुर २१ वैशाख । मकवानपुरको मनहरीमा सवारी दुर्घटना भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगतको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित सडकमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागर विक्रम राणाका अनुसार विहान ९ बजे ३ वटा ट्रक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

उनका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएको थियो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा कपिलबस्तुका बर्ष १७ का दिपक सुनुवार, हेटौँडा कमानेकी १६ बर्षकी पुजा मोक्तान, हेटौंडा ३ बस्ने बर्ष २० की सिला राई, मनहरी ६ बस्ने बर्ष २८ की धनमाया राई, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, मनहरी ६ बस्ने बर्ष २४ की कमला तामाङ, सोही स्थान बस्ने क्रमश बर्ष ३५ की कृष्णमाया राई, बर्ष २५ की निर्मला राई, बर्ष २५ की दिनमाया राई र बर्ष ५ का सनिल राई रहेका छन् ।

त्यसैगरी ना ६ ख ३३७४ नम्बरको ट्रक चालक रौतहट जिल्ला बस्ने बर्ष २७ को उमेस भुजेल र ना ६ ख ९७०७ नम्बरको ट्रक चालक दाङ बस्ने बर्ष ३५ को सरोज चौधरी पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार ना ४ ख १९९२ नम्बरको ट्रक चालक भने फरार रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाईएको प्रहरी प्रवक्ता रानाले तु खबरलाई जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*