हेटौँडामा प्रश्नपत्र आउट प्रकरण – प्रहरी र परीक्षा केन्द्रको जुहारी

२०७६ बैशाख २०,शुक्रबार १८:१८

मकवानपुर २० चैत । प्रश्नपत्र आउट गरेको आशंकामा भीमफेदी गाउँपालिका वडा नम्बर ३ घर भएका कबीर बानियाँ हिजो बिहीवार पक्राउ परे । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत उनलाई हिजो परीक्षा केन्द्र हेटौंडा क्याम्पसबाट प्रहरीले परीक्षा दिँदैगर्दा प्रश्नपत्र आउट गर्न खोजेको आशंकामा पक्राउ गरेको हो ।
पक्राउ परेका बानियाँलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ ।

बानियाँले किन मोवाईल फोन लगे ?, खासमा के भएको थियो ?, यसबारे तु खबरले जान्ने प्रयास गरेको छ ।
तु खबरलाई प्राप्त जानकारी अनुसार बानियाँले परीक्षा हलभित्र अनुमतिबिनानै परीक्षा संचालन भइरहेको अवस्थामा मोवाइल लगेका थिए । उनले प्रश्नपत्र खिचेर आफ्नो साथीलाई पठाएका छन् (साथीको नाम गोप्य राखिएको) । उनले विहान ७ः २५ बजे प्रश्नपत्र खिचेर पठाएका थिए । साथीले १४ वटा प्रश्नको उत्तर समेत उनको मोवाइलमा पठाए । प्राप्त भएको उत्तरलाई उनले कापीमा समेत लेख्न भ्याए ।

तर परीक्षा हलमा उनले मोवाइलबाट उत्तर सारिरहेको देखेपछि हेटौंडा क्याम्पसका सहायक प्रमुख देवीराम लामाले उनको कापी खोसे । लामाले कापी खोस्दा विहानको ८ः ४० बजेको थियो । बानियाँ कापी दिनुस् भन्दै शिक्षक लामाको पछि लागे । परीक्षा हलमा शिक्षक लामाको पछि लागेको देखेपछि सुरक्षाकर्मीको ध्यान त्यतातर्फ गयो । सुरक्षाकर्मीले मोवाइल फेला पारे अनि चेकजाँच गर्दा, परीक्षा नसकिँदै प्रश्नपत्र बाहिर पठाएकोले प्रश्नपत्र आउट भएको आशँकामा प्रहरीले बानियाँलाई पक्राउ गर्यो ।

यसो भन्छन् सहायक क्याम्पस प्रमुख लामा

क्याम्पसका सहायक प्रमुख देवीराम लामाले आफुलेनै बानियाँको कापी खोसेको स्वीकारेका छन् । उनले भने – ‘बानियाँले प्रश्नपत्र आउट गर्न खोजेको जस्तो मलाई लाग्दैन तर उनले परीक्षामा अनियमितता भने पक्कै गरेका हुन् । सामान्य भाषामा त्यसलाई चिट चोर्नु भनिन्छ, तर बानियाँले स्मार्ट फोननै प्रयोग गरेर चिट चोर्न खोज्दा उनीमाथि शङ्का गरिएको हुनसक्छ ।’

कापी खोसेपछि बानियाँको त्यस दिनको परीक्षा रद्द गर्ने सोच आफुले बनाएको लामाले बताए । तर बानियाँ आफ्नो पछि लागेपछि सुरक्षाकर्मीसम्म त्यो कुरा पुग्यो, सुरक्षाकर्मीले चेकजाँच गर्दा प्रश्नपत्र आउट गर्न खोजेको आशङ्का गर्दै पक्राउ गर्यो ।

उनले भने ठूलो गल्ती र अपराध बानियाँले गरेका हुन् तर मेरो विचारमा उनले प्रश्नपत्र आउट गर्न खोजेको होइन ।
लामाले भने – ‘सामान्य भाषामा परीक्षा सुरु हुनु अगावै प्रश्न बाहिर पठाएको भए आउट भन्न मिल्थ्यो तर उनले परीक्षा सुरु भएको ३० मिनेटपछि आफ्नो साथीलाई मेसेन्जरमा प्रश्नपत्र पठाएर उत्तर मागेका छन् । उनले कुनै गु्रप वा अन्त पठाएका रहेनछन् । त्यसकारण प्रश्नपत्र आउट गर्ने उनको योजना होइन भन्ने मलाई लाग्छ ।’

जिल्ला शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख लिला गौतमका अनुसार परीक्षा सुरु भएपछि ३० मिनेटसम्म प्रश्नपत्र बाहिर लैजान पार्इँदैन, यदि विद्यार्थी दिशा, पिसाब गर्न बाहिर जान चाहेमा उसले प्रश्नपत्र परीक्षा हलमा नै छोडेर जानुपर्छ । गल्ती बानियाँबाट भएको हो तर नियत त्यस्तो देखिँदैन– गौतमले तु खबरसंग भने ।

 

यो पनि पढ्नुहोस् – 

प्रश्नपत्र आउट गर्ने भीमफेदीका बानियाँलाई सार्वजनिक मुद्धा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*