पशुपतिनाथ माविको शैक्षिक क्यालेण्डर लोकार्पण

२०७६ बैशाख १२,बिहीबार १३:५२

मकवानपुर १२ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ मसिनेस्थित पशुपतिनाथ माविले प्रकाशन गरेको शैक्षिक सत्र २०७६ को शैक्षिक क्यालेण्डर बिहीबार लोकार्पण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा मनहरी गाउँपालिका–४ का अध्यक्ष ध्रुब खड्काले लोकार्पण गरेका हुन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तीनवटा आधार विद्यालय (फिडर स्कूल) समेटेर निर्माण गरिएको क्यालेण्डर वडा नं ४ का ३ वटा र वडा नं ३ को एउटा गरी चारवटै विद्यालयका बालबालिकालाई निःशुल्क उपलब्ध गराईने छ । गत वर्षदेखि विद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशन सुरु गरेको हो ।

चारवटै विद्यालयका बालबालिकाको शैक्षिक सुधारका लागि शैक्षिक एकरुपता कायम गर्न क्यालेण्डरले महत्वपूर्ण भूमिका निर्बाह गर्ने वडाअध्यक्ष खड्काले बताए । क्यालेण्डरले शिक्षक, विद्यार्थी र अभिभावकमा भावनात्मक रुपमा सम्बन्ध कायम गर्न, शैक्षिक गुणस्तरमा एकरुपता कायम गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने अध्यक्ष खड्काले बताए ।

विद्यालयले चालु शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने निर्णय भएको छ । साबिक शिशु कक्षाबाट अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लागिएको हो । वडाअध्यक्ष खड्काले आफ्नो छोरालाई पशुपतिनाथ माविमा भर्ना गरेका छन् । सामुदायिक विद्यालयमा सुधार गर्नका लागि आफूबाटै पहल सुरु गरिएको वडाअध्यक्ष खड्काले बताए ।

सबै अभिभावकको साथ र सहयोग प्राप्त हुनेमा आफू आशाबादी भएको अंग्रेजी माध्यम संचालन गर्न निर्माण गरिएको समितिका संयोजक प्रकाश थापाले बताए । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा आर्थिक स्रोत पहिचान तथा गुणस्तर सुधार गर्न बालमुकुन्द ढकालको संयोजकत्वमा समिति निर्माण गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*