लोकतन्त्र पुनर्बहालीका १३ वर्ष पूरा, सहिदको सपना अधुरा

२०७६ बैशाख ११,बुधबार ०७:४९

०६२/६३ को जनआन्दोलनमा सुरक्षाकर्मीले फालेको अश्रुग्यास छातीमा लागेर सहादत प्राप्त गरेकी सेतु विकका श्रीमान् शेरबहादुर विकको थाप्लोमा अहिले ६ लाख ऋण छ । वीर अस्पतालमा माइलो छोरोको पेटको अप्रेसन गर्दा ऋण थपिएको उनले बताए ।

‘माइलो छोराको पेटको अप्रेसन गर्नुपर्ने भयो । सरकारी अस्पताल भनेर वीरमा लगेँ । तर, जिल्ला प्रशासनले दिएको एक लाखबाहेक कतैबाट राहत मिलेन, ६ लाख ऋण छ,’ शेरबहादुरले भने । उनी नेपालगन्जमा अटोरिक्सा चलाएर गुजारा गर्दै छन् । अटोरिक्सा पनि ऋणमै किनेको बताए । आर्थिक अभावमा पढ्न नपाएका तीन छोरा कमाउन भारत गएका छन् । ‘जग्गाजमिन छैन, लेखपढ पनि छैन,’ शेरबहादुरले भने, ‘अटोरिक्सा नचलाए खान पाइन्न । एउटी छोरी पढाउन पनि समस्या छ ।’

सहिदको सपना पूरा नगरी आफ्नो दुनो सोझ्याएकोमा राजनीतिक दलका नेता र सरकारप्रति उनको गुनासो छ । ‘मेरो घरमा खानेकुरा ल्याइदिनुस् भन्दिनँ, सरकार र राजनीतिक दलका नेताले सहिदको भावनाको कदर गरिदिए मात्र पुग्छ,’ शेरबहादुरले भने ।

जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको सरकारी सुविधा बन्द
देशको परिवर्तनका लागि रगत बगाएका ‘जीवित सहिद’ मुकेश कायस्थका नाममा सरकारले दिँदै आएको सुविधा बन्द भएको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले मुकेशलाई मासिक भत्ताबापत १५ हजार, नर्सका लागि २३ हजार र कुरुवाका लागि ६ हजार दुई सय व्यवस्था गरेको थियो । तर, अहिले सम्पूर्ण सुविधा रोकिएको मुकेशकी आमा मीरा कायस्थले बताइन् । ‘जनताको पक्षमा काम गर्ने सरकार आएको भन्ने सुनिन्छ, तर मुकेशजस्ता आन्दोलनका घाइतेको सुविधा खोसिएको छ,’ मीराले भनिन् ।

मुकेशजस्तै जनआन्दोलनका घाइतेका लागि सरकारले पुनस्र्थापना केन्द्र खोलिदिनुपर्ने परिवारको माग छ । उनले भनिन्, ‘हामी हुँदा त हामीले छोराको स्याहारसुसार गछौँ, तर भोलि हामी पनि वृद्ध भएर स्याहार्न सकेनौँ भने कसले हेर्ला भन्ने चिन्ता लागिरहन्छ । त्यसैले पुनस्र्थापना केन्द्र खुलेमा हाम्रो बाबुजस्तै अरू घाइतेले संरक्षण पाउँछन् ।’

मुकेशलाई समाजले ‘जिउँदो सहिद’ भन्छ । तर, सरकारले घोषणा गरेको छैन । ‘सरकारले क्याबिनेटबाट नै जिउँदो सहिद किन घोषणा गर्न सकेन ?’ मीराको प्रश्न छ । सरकारले मुकेशलाई शतप्रतिशत घाइते भनेर परिचयपत्र उपलब्ध गराएको छ । ‘परिचयपत्रले के गर्ने, सुविधा नै काटिएको छ,’ उनी भन्छिन् ।

प्यारालाइसिसले थलिएकी आमा भन्छिन्– वासुदेवको सालिक बनाउँछु भन्दै भोट माग्न आएका नेता फर्किएनन्

मकवानपुरगढी गाउँपालिकाको भागरथी टोलको एउटा थलीमा सानो पक्की घर छ । त्यही घरको पिँढीमा बसेर आहिले पनि टोलाइरहन्छिन् जनआन्दोलन ०६२/६३ का सहिद वासुदेव घिमिरेकी ७९ वर्षीया आमा चित्रकुमारी । चित्रकुमारी तीन वर्षदेखि प्यारालाइसिसले थलिएकी छिन् ।

‘भूकम्पले घर भत्कायो, दुःख गरेर बनाएको सानो चिटिक्कको घर छ । तर, यहाँ पनि शान्तिसँग बस्न सक्दिनँ, मन दिनदिनै कुँडिन्छ पीडाले,’ उनले सुस्तरी सुनाइन्, ‘परिवारले सकेको घरेलु औषधिमुलो गरे, तर प्यारालाइसिसबाट उठ्न सकिनँ ।’

सहिद परिवारको नाममा उपचारमा कतैबाट सुविधा नपाएको गुनासो गरिन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा पनि उनीहरू सहभागी छैनन् । भोट माग्न आउने नेतालाई सहयोग केही चाहिँदैन्, छोराको सालिक बनाइदेऊ भनेर मागेकी उनलाई सबैले आश्वासन मात्रै बाँडे । ‘०७० मा नेता जयराम लामिछाने आएका थिए, उनलाई पनि सालिक बनाइदेऊ भनेँ, पाँच सयको नोट दिएर गएका फर्केनन् । मलाई पैसा चाहिँदैन, मेरो घरमा सालिक बनाइदेऊ भन्दा जिते पनि नजिते पनि सालिक बनाउँछु भनेर गएका थिए,’ चित्रकुमारीले भनिन् । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं भने गाउँपालिकाको तर्फबाट सहिद वासुदेव घिमिरेको स्मारक बनाउन लागिरहेको बताए ।

सहिद वासुदेवका ८० वर्षीय पिता कृष्णप्रसादको स्वास्थ्य पनि निकै कमजोर छ । वासुदेवले जनआन्दोलनका क्रममा काठमाडौंको कलंकीमा प्रहरी गोली लागेर साहदत प्राप्त गरेका थिए । उनकी पत्नी सुनिता छोरा सुवाससँग काठमाडैंमा बस्छिन् । सुवासले यस वर्ष एसइई दिएका छन् ।

आमा सहिद बन्दा आठ वर्षका थिए चितवनका रविन क्षेत्री, भन्छन्– अभावकै कारण डाक्टर बन्ने सपना तुहियो, राजनीति गर्ने चाहना २६ चैत ०६२ मा चितवनमा जनआन्दोलन उत्कर्षमा पुगिसकेको थियो । भरतपुर–११ मालपोतचोककी तुलसी क्षेत्री बार्दलीमा बसेर आन्दोलनकारीलाई पानी हालेर ऊर्जा थप्दै थिइन् । आन्दोलन दबाउन प्रहरीले चलाएको गोलीले तुलसी अचानक बार्दलीमै ढलिन् ।

त्यतिवेला छोरा रविन क्षेत्री आठ वर्षका थिए । बुबा विदेश भएको अवस्थामा ३० वर्षीया आमा गुमाउनुपर्दाको पीडा रविनको मानसपटलमा ताजै छ । आमालाई लागेको गोली बैठक कोठामा रविनले नै भेट्टाएका थिए । तर, परिवर्तनका लागि आमाले दिएको बलिदानीप्रति राज्यको भूमिका रविनलाई चित्त बुझेको छैन । ‘सहिद परिवारको बलिदानलाई राज्यले बिर्सेको छ,’ उनले भने ।

आमाले साहदत प्राप्त गर्दा रविन कक्षा तीनमा पढ्दै थिए । डाक्टर बन्ने उनको चाहना थियो । ८४.८८ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण उनले विज्ञान संकायमा ७७.९ प्रतिशत ल्याई प्लस टु पनि उत्तीर्ण गरे । तर, डाक्टर बन्ने चाहना आर्थिक अभावमा त्यहीँ टुंगिएको बताउँछन् । ‘राम्रो नम्बर आएकाले डाक्टर बन्ने चाहना राखेको थिएँ’, रविनले भने, ‘तर, आफूलाई हेरचाह गर्ने आमाको अभाव र पैसा जोहो गर्न सक्ने अवस्था नभएपछि एमबिबिएसको सट्टा कम्प्युटर सफ्टवेयर इन्जिनियरिङतिर लागो ।’ स्कुले शिक्षा निःशुल्क लिएका रविनले प्लस टुमा आठ महिनाको छात्रवृत्ति पाएका थिए । अहिले सरकारले वार्षिक २४ हजार पढाइ खर्च दिएको छ । तत्कालीन समयमा सहिद परिवारलाई राज्यले १० लाख तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक लाख सहयोग गरेको उनले बताए । तर, राज्यबाट जागिर र आर्थिक सहयोगको अपेक्षा आफूले नगरेको बताए ।

अध्ययनरत चितवनकै इन्द्रेणी कलेजको नेविसंघ इकाइ अध्यक्ष रहेका रविनलाई राजनीतिमा चाख छ । ‘म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हुँ, त्यसैले नेविसंघको राजनीतिबाट मूलधारको राजनीतिमा छिर्ने मेरो चाहना छ,’ उनले भने ।

नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*