दुग्ध सहकारीले आयव्यय विवरण पेश गरेनन्

२०७६ बैशाख ८,आईतवार १३:५९

मकवानपुर, ०८ वैशाख । मकवानपुरका सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरी आयव्यय विवरण नै लुकाएको नयाँ तथ्य फेला परेको छ ।

नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र समेत गर्दै सूचना प्रकाशन गरेको छ ।

सूचना हेर्नुस् ।

सहकारी विभागले गत २०७५ पौष मसान्त सम्म गाउँपालिका वा नगरपालिका कार्य क्षेत्र हुनेले सोही कार्यालयमा, जिल्लाभरी वा सो भन्दा बढी कार्य क्षेत्रहुनेले प्रदेश स्तरको निकायमा आयव्यय विवरण पेश गर्नु पर्ने नियम रहेको छ । तर मकवानपुरको गढी गाउँपालिकामा रहेका करीब १ दर्जन दुध सहकारीहरुले गाउँपालिकाले पटकपटक सूचना दिंदा समेत अटेर गरी आयव्यय विवरण पेश नगरेको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताएका छन् ।

त्यतिमात्र होईन सहकारी विभागले अनिवार्य गरेको अनलाईन विवरण बुझाउन अनलाईन प्रविधिको युजर नेम लिन समेत आज सम्म कुनै दुध सहकारी पुगेकै छैनन् ।

तर जिल्ला दुध संघले सहकारीले पारदर्शी रुपमा नियमानुसार नै कार्य गरिरहेको दाबी गर्दै गरेको छ । तर जिल्ला संघको सदस्य रहेको कुनैपनि सहकारीहरुको आयव्यय विवरण कुनैपनि निकायमा छैनन् भने, स्वयम् जिल्ला संघले प्रदेश मन्त्रालयको सहकारी महाशाखामा बुझाउनु पर्ने आफ्नो आयव्यय विवरण आज सम्म नबुझाएको नयाँ तथ्य फेला परेको छ । त्यतिमात्र होईन जिल्ला संघको कुनैपनि कागजात प्रदेश मन्त्रालयमा नै नरहेको बताईएको छ । मन्त्रालयले जिल्ला संघको कागजात हेटौंडा उपमहानगरपालिकामा रहेको जानकारी दिएको थियो ।

तर हेटौंडा उपमहानगरपालिकामा बुझ्दा त्यहा पनि उसको कुनैपनि कागजात नरहेको, उपमहानगरपालिकालाई कुनै विवरण पेश पनि नगरेको उपमहानगरपालिका सूचना अधिकारी शंकर उपाध्यायले जानकारी दिए । सहकारी विभागको अनलाईन विवरणको लागि केही पेश नगरेको जनाएको छ । यसबाट जिल्ला संघको कुनै कागजात कुनै पनि निकायमा नै नरहेको प्रमाणित भएको छ ।

उपमहानगरपालिकाले विवरण पेश गर्नका लागि पटक पटक सूचना प्रसारण गर्दा पनि सहकारीहरुले वास्ता नगरेको जनाएको छ ।

सहकारीहरुले विवरण पेश गर्न नसक्नु भनेको त्यहाँ अनियमितताको शंका रहने प्रदेश मन्त्रालयले बताएको छ । संघीय कानून अनुसार विवरण पेश नगर्ने सहकारीलाई रु ३ लाख सम्म जरिवाना गर्नूका साथै संस्था नै खारेज सम्मको नियम रहेको छ ।

प्रति लिटर सरदर ४७ रुपैयाँमा खरीद गरेको संकलित दुधलाई सहकारीहरुले स्थानीय व्यवसायीलाई त्यही दुध प्रतिलिटर ६७ रुपैयामा बिक्री गर्दछ । जिल्ला संघ र सहकारीबाट खरीद दुधलाई स्थानीय व्यवसायीहरुले भने खुल्ला प्रतिलिटर ७० देखि ७५ रुपैया प्रतिलिटरमा उपभोक्तालाई रुपमा बिक्री गर्ने गरेका छन् ।

तर सरकारले प्रशोधित दुध मात्रै अधिकतम प्रतिलिटर ७० रुपैयामा बिक्री गर्न पाउने तर विना प्रशोधन बेच्न नै नपाउने निर्णय निर्देशिका लागू गरेको छ । यसरी प्रशोधन नगरिएका कच्चा दुध नै किसानले पाएको रकम भन्दा उपभोक्ताले करीब ४० प्रतिशत थप रकममा किनिरहेका छन् ।

मकवानपुरमा दैनिक ३० हजार लिटर दुध उत्पादन हुने गरेको छ ।

(शनिवार न्युज २४ टेलिभिजनको सिधाकुरा कार्यक्रममा प्रशारित सामग्री)