मकवानपुर प्रहरीले समात्यो भन्सार छलेर ल्याएको कपडा, एक जना पक्राउ

२०७६ बैशाख ७,शनिबार १८:३४

मकवानपुर ७ वैशाख । इलाका प्रहरी कार्यालय पशुपतिनगर, हेटौंडाले ठूलो परिमाणमा भन्सार छलेर ल्याएको अवैध कपडा रातोमाटेबाट बरामद गरेको छ । प्रहरीले नेपाली २ लाख ५२ हजार बराबरको कपडा बरामद गरेको हो ।

प्रहरी निरीक्षक अरुण कुमार कुशवाहालगायतको टोलीले वैशाख ६ गते हेटौडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडकखण्डमा ना ५ ख ५७५५ नम्बरको बसलाई जाँच गर्दा कुर्ता र थानको कपडालगायत नेपाली १ लाख २० हजार मुल्य बराबरको कपडा बरामद गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भारत पश्चिम बंगाल माल्दा सुजापुर बस्ने ३१ वर्षीय उमर थारुकलाई पक्राउ गरेको छ । थारुकलाई पक्राउ गरी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाइने भएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले ६ गते नै रातोमाटेबाट ना ४ ख १०६७ नम्बरको बसलाई जाँच गर्दा वेवारिसे अवस्थामा रहेको १ लाख ३२ हजार नेपाली रुपियाँ मुल्य बराबरको कपडा बरामद गरेको छ ।

वेवारिसे अवस्थामा प्लास्टिकको बोराभित्र कुर्ता र थानको कपडालगायतका कपडा बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहर खबरको सहयोगमा