विवाद र अन्योलमै बित्यो राजपाको दुई वर्ष

२०७६ बैशाख ७,शनिबार १८:१०

मकवानपुर ७ वैशाख । राष्ट्रिय जनता पार्टी राजपा नेपालले आज आफ्नो दोस्रो स्थापना दिवस मनाइरहेको छ । २०७४ वैशाख ७ गते मधेशका विभिन्न छवटा दल मिलेर राजपा नेपाल गठन भएको थियो ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो ।

एकताको आधार

एकीकरणअघिको कमजोर मानिने राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकमा रहेका नेताहरुले अरु दलसँग पार्टी एकीकरण नगर्ने हो भने पार्टी छाडेर जाने धम्की दिए । त्यसपछि अध्यक्ष यादवले ती नेताहरुसँग एक हप्ताको समय माग गरेका थिए ।

लगत्तै उनले शरतसिंह भण्डारी र महेन्द्र राय यादवसँग पार्टी एकीकरणका लागि छलफल शुरु गरेका थिए । तीन पार्टीबीच एकीकरण गर्ने भनि कुरा अगाडि बढ्यो । त्यो कुरा थाह पाएपछि राजेन्द्र महतो पनि एकीकरणका लागि तयार भए । शरतसिंह, राजकिशोर, महेन्द्रराय र राजेन्द्र महतोबीच छलफल भइरहेको बेला महन्थ ठाकुर पनि जोडिए ।

एकीकरण गर्ने पाँचजना नेताबीच सहमति बनेको थियो । उनीहरुले अनिल झासँगपनि एकीकरणका लागि पहल गरिरहेका थिए तर उनी पार्टी एकीकरण गर्ने पक्षमा थिएनन् । कालीकास्थानमा रहेको अमृतभोगमा एकचरण पाँच दलको एकीकरण घोषणा भइसकेपछि मात्र ह्रदय त्रिपाठीले अनिल झालाई ल्याएर एकीकरणमा सहभागी सहभागी गराएका थिए ।

हुन त राजपा नेपाल बनाएका नेताहरुले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि एकीकरणमा सहभागी हुन आग्रह गरेका थिए । तर, त्यतिबेला यादव एकताका लागि तयार भएनन् । राजपाको चुनाव चिन्ह साइकल र पार्टीको झन्डा छाता रहेको छ ।

फोरम नेपालसँग दूरी
२०७४ वैशाख ७ गते एकीकरणको घोषणा भएपछि नेपाली राजनीतिकमा हलचल नै आएको थियो । त्यसमा सबभन्दा बढी असर फोरम नेपाललाई परेको थियो । छवटा दलबीच एकीकरण भएकै दिन फोरम नेपालको केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकको एजेण्डा नै थियो राजपा नेपालको एकीकरणको बारेमा छलफल गर्नु । राजपा नेपालको एकीकरणपछि फोरम नेपालले पनि नयाँ शक्ति पार्टीसँग एकीकरण गर्ने भनि कार्यदल नै बनाएको थियो ।
यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।